News

अस्पतालको ‘लापरबाहीले’ डाक्टर विमलको मृत्यु, नोबेलको व्यवहारप्रति परिवारको आपत्ति

अस्पतालको ‘लापरबाहीले’ डाक्टर विमलको मृत्यु, नोबेलको व्यवहारप्रति परिवारको आपत्ति

काठमाडौं : आफैं सवारी चलाएर आफ्नो उपचारका लागि नोबेल अस्पताल पुगेका डाक्टर जीवित फर्कन सकेनन् । पूर्व क्षेत्रकै चर्चित वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विमल अग्रवालको ‘अस्पतालको चरम लापरबाही’ का कारण मंगलबार निधन भयो । विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ अग्रवाल ४२ वर्षका थिए।

अग्रवालको एन्जियोग्राफीपश्चात भएको स्वास्थ्यको प्रतिकूलतालाई लिएर चिकित्सक र आफन्तहरूले गम्भीर प्रश्न उठाएका हुन् । वैशाख २३ गते सोमबार देब्रे छातीमा सामान्य समस्या देखिएपछि अग्रवाल नोबेल पुगेका थिए। चिकित्सकको सल्लाह बमोजिम सामान्य उपचार गराएर फर्किएका उनी पुनः भोलिपल्ट श्रीमतीका साथ अस्पताल जाए ।

उनको एन्जियोग्राफी गरेपश्चात स्वास्थ्यमा देखिएको असामान्य अवस्थालाई गम्भीर रूपमा नलिँदा उनको असामयिक निधन भएको भन्दै आफन्त रुष्ट बनेका छन् । उपचारकै क्रममा ‘ब्रेनडेथ’ भएपछि कोमामा पुगेका डा. विमलको मंगलबार राति साढे १० बजे विराटनगरस्थित नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा निधन भएको हो ।

आफन्तको असन्तुष्टि

विमलका बाबु श्रावरमल अग्रवालका अनुसार एन्जियोग्राफी गरेपश्चात् ज्वरो आउन शुरु भएपछि उनलाई दुखाइ कम गर्ने र निद्राको औषधी दिइएको थियो । औषधीको मात्राले पूर्ण बेहोस भए पनि एन्जियोग्राफी गर्दा दिइएको औषधीले दिमागमा असर गरेको उनको ठहर छ ।

बिरामी लामो समयसम्म होसमा नआएपछि आमफन्तलाई ‘यस्तो अवस्थामा होसमा आउन तीन–चार घण्टा पनि लाग्छ’ भनेर डाक्टरले सम्झाएका थिए । तर, विमल कहिल्यै होसमा आएनन्।

त्यस दिन विराटनगरस्थित न्युरो अस्पतालका चिकित्सकको टोलीसमेत पुगेर उनको अवस्था हेरेको थियो । तर, त्यति बेला निकै ढिला भइसकेको थियो । उनको अवस्थाको साक्षी रहेका उनका सहकर्मी एवं विराटनगर राउन्ड टेबल–११ का संस्थापक अध्यक्ष विकास बेगवानीले चिकित्सकले चरम लापरबाही गरेको आरोप लगाए ।

‘सामान्य स्वास्थ्य अवस्था भनेर हेलचेक्र्याइँ गर्दा आज होनहार बालरोग विशेषज्ञले जीवन गुमाउनुपरेको छ’ –बेगनीले भने । यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

नोबेल अस्पताल विमल अग्रवाल

विशेष