News

मेयरले कार्यकक्षमै कुटे वडासचिव

मेयरले कार्यकक्षमै कुटे वडासचिव

इटहरी । इटहरी उपमहानगरका मेयर द्वारिकालाल चौधरीले वडा सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन् । सीएफएल बल्ब खरिदमा भ्रष्टाचार गरेको भन्दै मेयर चौधरीले वडा नं १९ का सचिव मनोज दाहाललाई कुटपिट गरेका हुन् । वडासचिव दाहालका अनुसार उनी कार्यकक्षमा पुग्नासाथ मेयर चौधरीले कर्मचारीलाई सीसी क्यामरा बन्द गर्न लगाएका थिए । 

 

उपमहानगरले डेढ वर्षअघि खरिद गरेको सीएफएल बल्बमा २० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको प्रमाणित भएको थियो । सीएफएल खरिदका बेला जिन्सी शाखामा दाहाल प्रमुख थिए । कार्यकक्षमा वडा सचिवलाई दुर्व्यवहार गरेको भन्दै उपमहानगरका कर्मचारीहरूले कार्यालय परिसरमा नाराबाजी गरेका थिए । उनीहरू कुटपिटविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिने तयारीमा छन् ।

 

दुर्व्यवहार भएको विरोधमा कर्मचारीले इटहरी उपमहानगरपालिका कार्यालय र २० वटै वडा अनिश्चितकालका लागि बन्दको घोषणा गरेका छन् । बिहीबार उपमहानगरपालिकामा भेला भएर धर्ना दिने उनीहरूले बताएका छन् । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कुटपिट इटहरी उपमहानगर मेयर द्वारिकालाल चौधरी

विशेष