काठमाडौंका मेयर शाक्य भन्छन्, ‘समस्याको समाधान दिने विज्ञ चाहियो’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले समस्या देखाउनेभन्दा समाधान दिने विज्ञको खाँचो रहेको बताएका छन् । महानगरको वातावरण व्यवस्थापन विभागले बुधबार आयोजना गरेको गोष्ठीमा शाक्यले आमनागरिकसँग जोडिएका समस्या समाधानमा विकल्प दिने जो कोहीलाई स्वागत गर्ने बताए ।
शाक्यले सबैको सुझाबलाई नीतिमा उल्लेख गरेर कार्यान्वयन गर्नेसमेत बताए । ‘समस्याका चाङ लगाइदिन सक्ने प्रवृत्ति हुन सक्छ । धेरै विकल्प देखाउने पनि गर्न सकिन्छ,’ उनले भने, ‘तर समस्याको समाधान गर्न सक्ने विज्ञ पाउन सकिएन ।’ उनले वातावरणीय सुधारका लागि विद्युतीय सवारीसाधन सञ्चालन गर्ने तयारीमा भइरहेको समेत जानकारी दिए । ‘काठमाडौंमा विद्युतीय सवारी चलाउन हुँदैन भन्ने पनि छन् ।
विज्ञबाट आएका यस्ता धारणाले काममा अलमल गराइदिन्छ,’ उनले भने, ‘सवारी जाम कम हुनासाथ वायु प्रदूषणमा कमी आउँछ । सबै समस्यालाई हामी जिम्मेवारपूर्वक समाधानमा गर्ने बाटोमा छौँ ।’ महानगरले सहरमा उत्पादन भएको घरेलु फोहोरलाई दिगो व्यवस्थापन गरेर जलवायु परिवर्तनमा पुग्ने असर रोक्ने प्रतिबद्धतासमेत जनाएको छ । नयाँ पत्रिका दैनिकबाट
मेयर विद्यासुन्दर शाक्य