नेपाल मोह ! (फोटोफिचर)

नेपाल मोह ! (फोटोफिचर)

दशकअघि डच नागरिक रिचार्डले नेपाल टेक्दा यहाँको वातावरण यति सहज थिएन । मानिसभित्र एकप्रकारको त्रास थियो । संवादहीनता थियो । राजनीतिक ध्रुवीकरणले देश तहसनहस बनेको थियो । माओवादी हत्या, हिंसा सेलाएको थिएन् । यति हुँदाहुँदै पनि नेपालीमा गज्जबको आशा थियो । पहाडले थिचेजस्तो पीडादायी क्षणमा पनि नेपाली समाजको अपनत्व, एकले अर्कामा प्रकट गर्ने हार्दिकताले उनलाई उदेक बनाउँथ्यो । 


द्वन्द्वको त्यत्रो घाउलाई सहज पचाउने नेपाली मनोविज्ञानले मन मस्तिष्कमा बास गरिरह्यो । अनि उनी नेपाली समाजका विभिन्न आयाम समेटेर फोटो खिच्न थाले । जहाँ जान्थे, त्यहाँको परिवेश सर्लक्क उतार्न उनी व्यस्त हुन थाले । फोटो खिचेर मात्र भएन, यसको व्यवस्थापकीय हुटहुटीले उनलाई बसी खान दिएन । आखिर छरिएका फोटोको पुस्तक बनाएर उनले यो भोक मेटे । त्यसपछि उनी बारम्बार नेपाल आइरहे । अब त नेपाल मेनियाले  यति सताउन थाल्यो कि केही व्यावसायिक कर्म गरेर यहाँको धर्ती सिंचिनुपर्छ भन्ने निधोमा पुगे ।

नेपालप्रति तानिनुको अर्को कारण पनि रहेछ । उनले इण्डोनेशियामा घरजम गरेका रहेछन् । इण्डो र नेपालीको शारीरिक बनावट एउटै भएकाले उनलाई नेपालसंग पनि असाध्य प्रेम बसेछ । यही रसायनका कारण उनलाई नेपाल पनि दोस्रो ससुराली देश लाग्छ ।  


नियतिले उनको भेट प्रसिद्ध संगीतकर्मी आलोकश्रीलाई गराइदियो । गीत संगीतमा सिंचाई गर्ने आलोकश्री  एक दशक यता कृषि कर्ममा आफ्नो दायरा फैल्याउँदै थिए । आफ्नै जन्मभूमि गोरखाको पालुङटारमा चार विघा जग्गा लिएर उनले अर्गानिक खेती शुरु गरेका थिए । डच नागरिकद्वय रिचार्ड र अरजान हुल्सबर्गेनले अर्गानिक खेतीमा आफ्नो सहभागिता जनाउने इच्छा राखे । आलोकश्रीले पनि रातो कार्पेट विछ्याए । अनि भयो यो महाभियानको थालनी । नेदरल्याण्ड विश्वको सर्वाधिक फूल निर्यात गर्ने देश हो ।

त्यहाँको कृषि प्रविधिलाई नेपाल ल्याएर यहाँको उत्पादकत्व बढाउने अभियानमा मद्दत गर्ने उनीहरुको संकल्प छ । उनीहरुलाई डच साथी बेन कोस्टविन्डरले साथ दिएका छन् । उनीहरु नेपाली भाषा, संस्कृति, पहिरन र रहनसहनमा आफूलाई ढालिरहेका छन् । नेपाली भाषा सिक्दैछन् । नेपालको लोभलाग्दो भौगोलिक विविधताको बखान गरेर थाक्दैनन् ।

उनीहरुले यो व्यवसायमा हात हालेको एकाध वर्ष भएको छ । तर फार्ममा मौसमी तरकारी खेती टन्नै छ । टमाटर, काउली, सिमीजस्ता अर्गानिक फसलको उल्लेख्य उत्पादन भएको छ । बजार खोज्ने तनाव छैन् । स्थानीय उत्पादन, स्थानीय बजारलाई ठिक्क छ । केही समयभित्र गोर्खा, तनहूँ र पोखराको बजारमा आफ्नो उत्पादन छ्यापछ्याप्ती बनाउने उनीहरुको योजना छ । 

 नेपाल मोह डच नागरिक रिचार्ड

संम्बधित खबर

विशेष