कानुनमन्त्रीको चेतावनी– संघीय कानुन विपरीत गए बदर
अधिकारका विषयमा संघीय र प्रदेश सरकारबीच माथापच्ची चलिरहेका बेला कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संघीय कानुन प्रतिकूल हुनेगरी कानुन बनाए बदर गर्ने चेतावनी दिनु भएको छ ।
संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री ढकालले संविधान र कानुन विपरीत चल्न नदिन प्रदेश र स्थानीय सरकारले सबै कानुनको कपी संघीय सरकारलाई अनिवार्य उपलब्ध गराउने व्यवस्था भएको स्पष्ट गर्नुभयो ।
उहाँले संविधान र संघीय कानुन विपरीतका कानुन निर्माण गर्न पाउने भ्रममा नपर्न प्रदेश र स्थानीय सरकारलाई सचेत गराउनु भयो । मन्त्री ढकालले सरकारले संविधान बमोजिमनै विधेयक निर्माणको काम गरिरहेको दावी गर्नुभयो ।
उहाँले विधेयक निर्माणको कामलाई छिटो पूर्णता दिन मातहतका सबै निकायलाई सचेत गराउनु भयो ।