News

ललितपुरमा देवरको कुटाइबाट आठ महिनाको गर्भ खेर

ललितपुरमा देवरको कुटाइबाट आठ महिनाको गर्भ खेर

ललितपुर : देवरको कुटाइबाट एक महिलाको आठ महिनाको गर्भ खेर भएको छ । ललितपुर लप्सीगौराका सन्तोष थापामगरको कुटपिटका कारण उनकी भाउजू पवित्रा थापामगरको गर्भ खेर गएको हो । प्रहरीले भाउजूमाथि कुटपिट गर्ने थापामगरलाई बिहीबार पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त ललितपुरका प्रमुख गौतम केसीले देवरको कुटपिटबाट भाउजू पवित्राको गर्भ खेर गएको जानकारी दिए । कुटपिटका कारण आठ महिनाको गर्भ खेर गएको उजुरी परेपछि उनलाई पक्राउ गरेको केसीले बताए । प्रहरीका अनुसार सन्तोषले आठ महिनाकी गर्भवती भाउजू पवित्रामाथि हातपात गरेका थिए । टाउको र पेटमा चोट लागेका कारण पवित्राको गर्भमै शिशुको मृत्यु भएको प्रहरीको भनाइ छ ।

 ‘हामीले घटनास्थल पुगेर पीडित महिलासँग बयान लियौँ । देवरले कुटपिट गरेपछि गर्भ खेर गएको उनले बताइन् । उनको टाउकोमा चोट लागेको देखियो । सन्तोषलाई पक्राउ गरिसकेका छौँ । पीडितको पक्षबाट जाहेरी परेको छ, घटना सम्बन्धमा थप अनुसन्धान हुँदै छ,’ उनले भने । पवित्रालाई उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

कुटपिट

विशेष