नयाँ पेट्रोल पम्पका लागि आवेदन माग, यस्ता छन् नयाँ मापदण्ड

काठमाडौं । नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प सञ्चालनका लागि आवेदन खुला गरेको छ । निगमले पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ल्याई आवेदन खुला गरेको हो । पछिल्लो समय सडकको विस्तार भई गाउँगाउँमा यातायातको पहुँच पुगेको, सवारी साधनको संख्या पनि वृद्धि भइरहेको र पेट्रोलियम पदार्थको बिक्रीमा प्रतिस्पर्धा बढाउन नयाँ आवेदन खोलिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
उनले भने, ‘पेट्रोल पम्पमा लगानी गर्न व्यवसायी उत्साहित छन्, पम्पको आवश्यकता पनि बढेको छ, बजारमा प्रतिस्पर्धा हुनुपर्छ, जिल्ला र गाउँगाउँमा बाटो पुगेको छ त्यहाँ सवारी साधन पनि चलेका छन् तर पम्प जिल्ला सदरमुकाममा मात्र केन्द्रित छन्, घरघरमा मोटरसाइकल हुनु सामान्य भइसक्यो तर पम्प टाढा छन् ।’ निगमको सेवा अझ सर्वसुलभ बनाउन नयाँ आवेदन खुला गरिएको बताइएको छ ।
पम्प सञ्चालनका लागि नयाँ मापदण्ड तोकिएको छ । निवेदन शुल्क ५० हजार रुपियाँ छ । निगमले नमुना पेट्रोल पम्प र साधारण पेट्रोल पम्प गरी दुई वर्गमा वर्गीकरण गरेको छ । नमुना पेट्रोल पम्प जुनसुकै बेला पनि सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ तर साधारण पम्पका लागि आवेदन खुलाउनुपर्ने व्यवस्था गरिएको छ । साधारण पम्प सञ्चालनका लागि नयाँ मापदण्ड निर्धारण गरिएको छ । पूर्वपश्चिम राजमार्गमा १० कठ्ठा जमिन हुनुपर्ने प्रावधान छ । राजमार्गमा मोहडा कम्तीमा ५० मिटर हुनुपर्नेछ । सहायक तथा व्यापारिक सडकमा २५ सय वर्गमिटर आठ कठ्ठा वा पाँच रोपनी र सडकतर्फको मोहडा कम्तीमा ३४ मिटर तोकिएको छ ।
सहायक तथा जिल्ला सडकहरूमा कम्तीमा १२ सय वर्ग मिटर वा चार कट्ठा वा दुई रोपनी छ आना जमिन हुनुपर्नेछ । सडकतर्फको मोहडा कम्तीमा २५ मिटर हुनुपर्नेछ । काठमाडौं र ललितपुर महानगरपालिकालाई भने भिन्नै मापदण्ड तोकिएको छ । कम्तीमा ७५० वर्गमिटर वा एक रोपनी आठ आना जग्गा हुनुपर्नेछ । सडकतर्फको मोहडा भने २० मिटर तोकिएको छ । यी दुवै महानगरमा पेट्रोल बिक्रीका लागि मात्र आवेदन खुला गरिएको छ भने अन्यमा पेट्रोल, डिजेल दुवै बिक्री गर्न खुला गरिएको छ । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।
नेपाल आयल निगम पेट्रोल पम्प सञ्चालक