निर्मला हत्या प्रकरणको १० महिना : प्रहरी अझै ‘सुराक’कै खोजीमा

निर्मला हत्या प्रकरणको १० महिना : प्रहरी अझै ‘सुराक’कै खोजीमा

धनगढी । कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १० महिना पुगेको छ। उनको हत्यारा पत्ता लगाउन देशैभरि आन्दोलन भए। सडक र सदन दुवै ताते। महेन्द्रनगरमा भएको आन्दोलनका क्रममा शनी खुनाको मृत्यु भयो भने केही घाइते भए।

निर्मलाका आमा र बुबाले प्रहरी प्रमुख, मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्म भेटेर हत्यारा पत्ता लगाउन बिन्ती गरे। पीडित आमाबुबासहित आफन्त चार महिनासम्म अनवरत धर्ना बसे। तर निकै चर्चा पाएको र सरकारले धेरै दबाब खेपेको निर्मला पन्त हत्याकाण्डको रहस्य १० महिना हुँदा पनि खुल्न सकेको छैन।

हत्यारा पत्ता नलागेपछि यसअघि दबाब दिन संघर्षमा उत्रेका स्थानीय, अधिकारकर्मी, निर्मलाका आमाबुबालगायत आफन्त पनि सुस्ताएका छन्। ‘छोरीको हत्या भएको १० महिना भइसक्यो। न्यायका लागि संघर्ष गर्दागर्दै बिरामी परेर आफ्नै ज्यान जाने अवस्था बन्यो,’ निर्मलाका बुबा यज्ञराज पन्त भन्छन्, ‘सरकारले हत्यारा पत्ता लगाउँदैन, कहिलेसम्म संघर्ष गर्नेर्, कहिलेसम्म धाइराख्ने, कहिलेसम्म कुर्ने ?’

न्याय माग्दा–माग्दा थाकेका उनले पन्ध्र–बीस दिनदेखि घरनजिकै भासीमा ठेलामा चटपटे बेच्ने व्यवसाय फेरि सुरु गरेको बताए। ‘निर्मलालाई न्याय’का लागि कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि निर्मलाका बुबाआमा, आफन्तलगायत अनवरत रूपमा धर्ना बसेका थिए। धर्नाकै क्रममा मानसिक समस्या देखिएपछि उनलाई उपचारार्थ काठमाडौं लगिएको थियो। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

निर्माला हत्या प्रकरण

संम्बधित खबर

विशेष