विदेश

मोदीले दिए प्रधानमन्त्रीको पदबाट राजीनामा

मोदीले दिए प्रधानमन्त्रीको पदबाट राजीनामा

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार राष्ट्रपति रामनाथ कोविन्दसमक्ष राजीनामा दिएका हुन्। मोदीको राजीनामा राष्ट्रपति कोविन्दले स्वीकार गरिसकेको भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ।

मोदीले नयाँ प्रधानमन्त्री बन्न प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका हुन्। भारतीय लोकसभा निर्वाचनमा कुल ५४२ सिट मध्ये ३०३ सिट उनको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले जितेको छ। यो नतिजासँग मोदी पुनः पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने भएका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार आउँदो साता उनको शपथ ग्रहण कार्यक्रम छ।

केही दिनपछि मोदीकै नेतृत्वमा नयाँ सरकार गठन हुनेछ। नयाँ सरकार नबनेसम्म मोदी नेतृत्वको सरकारले 'काम चलाउ' सरकार रुपमा काम गर्नेछ। शपथ अगाडि मोदी आफ्नो निर्वाचन क्षेत्र वाराणासी जाने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै उनी आफ्नी आमालाई भेट्न जाने पनि बताइएको छ।

पाँच वर्षअघि भाजपाले २ सय ८२ सिट जितेको थियो। यसपालि भाजपाको मत बढेसँगै उसको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको सिट पनि पहिलाभन्दा बढेको छ। पाँच वर्षअघि एनडिएले ३ सय ३६ सिट पाएको थियो। यसपालि १४ सिट बढाएर ३ सय ५० पुर्‍याएको छ।

प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले पनि पहिलाभन्दा केही सिट बढाएको छ। पाँच वर्षअघि ४४ सिटमा खुम्चिएको कंग्रेस यसपालि छ सिट बढाएर ५२ पुर्‍याएको छ भने उसको गठबन्धन युपिएले ८५ सिट जितेको छ। सन् २०१४ मा युपिए गठबन्धनको ६० सिटमात्र थियो। लोकसभामा अरू क्षेत्रीय दल र साना पार्टीले १०७ सिटमा जित हात पारेका छन्।

नरेन्द्र मोदी

विशेष