News

६ कन्टेनर ऊन ल्याएर तातोपानी नाका खुलाइँदै

६ कन्टेनर ऊन ल्याएर तातोपानी नाका खुलाइँदै

सिन्धुपाल्चोक । ६ कन्टेनर ऊन ल्याएर जेठ दोस्रो साता तातोपानी नाका खुलाइने भएको छ । भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले नेपालतर्फबाट दर्जनभन्दा बढी कामदार पठाई कन्टेनर र ट्रकमा ऊन भरेर नेपालतर्फ ल्याउन चीनपक्षबाट अनौपचारिक रूपमा सहमति भएको जानकारी दिए । ‘भन्सार र अध्यागमन, उद्योग वाणिज्य संघसँग समन्वय गरी ऊन ल्याएर नाका सञ्चालन गर्ने तयारी गरिरहेका छौं’ उनले भने । 

 


सीमावर्ती तातोपानी क्षेत्रको निरीक्षणमा आएका गृहमन्त्री रामबहादुर थापाले जेठ १५ वा १७ गते नाका खुल्ने बताएका छन् । निर्माणाधीन मितेरी पुल, भन्सार, अध्यागमन कार्यालय, सुक्खा बन्दरगाहदेखि सीमावर्ती क्षेत्रको निरीक्षण गर्दै उनले नाका सञ्चालनका लागि तयार रहन जनप्रतिनिधि र सुरक्षाकर्मीलाई सुझाए । उनले सुक्खा बन्दरगाह निरीक्षण गर्दै चाँडै सम्पन्न गरेकामा ठेकेदार पक्षलाई बधाई दिए । सबै भौतिक संरचना तयार भइसकेकाले नाका खुल्नेमा द्विविधा नरहेको सांसद अग्नि सापकोटाले बताए । ‘यहाँ गैरकानुनी क्रियाकलापमा कडाइ गर्दै नाका चल्नेछ, यसलाई चीन पक्षले संवदेनशील रूपमा लिएको छ’ उनले भने ।

 

चीनतर्फको भूभाग लगभग तयार हुने अवस्थामा पुगिसक्दा सीमा भेग सडकको सामान्य मर्मत मात्रै सकिएको छ । सुक्खा बन्दरगाह तयार भइरहँदा मितेरी पुलको काम सकिन अझै साता दिन लाग्ने चिनियाँ प्राविधिकले बताएका छन् । यसअघि दर्जनौं पटक सरकारी अधिकारीबाट नाका निरीक्षण भइसकेको छ । गाउँपालिका अध्यक्ष पौडेलले जेठ १७ मा सुक्खा बन्दरगाह, मितेरी पुलसहित कोदारी राजमार्ग हस्तान्तरण गर्ने जानकारी आए पनि औपचारिक रूपमा कुनै पत्र नआएको बताए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

तातोपानी नाका ऊन

विशेष