संविधान विपरीतका विधेयक पारित हुन दिन्नौं– बालकृष्ण खाँण
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक खाँणले प्रधानमन्त्री केपी ओली संसद र जनप्रतिनिधिको अपहेलनामा उत्रिरहेकाले त्यस विरुद्ध आफ्नो पार्टी दृढतापूर्वक उभिने बताउनु भएको छ ।
संविधानको प्रावधानलाई कुल्चिने गरी सरकारले ल्याएको कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने प्रमुख सचेतक खाँणको भनाई छ ।
पार्टीको राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार काठमाडौंमा भएको कार्यक्रममा उहाँले संविधानको रक्षा गर्न नेपाली काँग्रेसलाई प्रधानमन्त्री केपी ओली आफैले सडकमा जान बाध्य बनाएको दावी गर्नुभयो ।
प्रमुख सचेतक खाँणले सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयको प्रतिकूल हुने गरी आएका विधेयक संसदबाट फिर्ता नभए सडक आन्दोलनमा जान आफ्नो पार्टी बाध्य हुने स्पष्ट पार्नु भयो ।
दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री ओली विनम्र हुनु पर्नेमा संसद र जनप्रतिनिधिहरुप्रति अनुदार हुँदै गएकाले विरोध गर्नु परेको खाँणले स्पष्ट पार्नु भयो ।