News

बिहान ४ः१५ को टाइमर, बेलुकी ४ः१५ मै विस्फोट

बिहान ४ः१५ को टाइमर, बेलुकी ४ः१५ मै विस्फोट

काठमाडौं । ४ः१५ मा घरको कोठाभित्र विस्फोट हुँदा विप्लव समूहको विद्यार्थी संगठनका सिटिइभिटी कमिटीका अध्यक्ष प्रज्वल (विशाल) शाहीको मृत्यु भएको छ  । शाही बझाङका हुन् । सो कोठामा सँगै रहेका पश्चिम रुकुमको सानीभेरीका रविन केसी घाइते भएका छन् । उनी सो संगठनको त्रिचन्द्र क्याम्पसका इकाइ अध्यक्ष हुन् । आइतबार साँझ गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा सुरक्षा बैठक बसेको थियो । बैठकमा विप्लव समूहप्रति थप कडा रूपमा प्रस्तुत हुन मन्त्रीले निर्देशन दिएका छन् ।

 

सुकेधारा
करिब ४ः१५ वरिपरि नै सुकेधारास्थित सैलुनभित्र विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । विस्फोटको समयमा सैलुनका सञ्चालक छोटेलाल ठाकुरबाहेक नेवाः मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जन, ट्रेड युनियनका अध्यक्ष हरि खड्का, सैन्य विभागका मध्यकमान्ड इन्चार्ज महावीर र अर्का कार्यकर्ता दीपेनलगायत रहेको प्रहरीले जनाएको छ । घाइतेमा एकजना छोटेलाल छन्, मृत्यु क–कसको भयो भन्ने खुलेको छैन ।

 

ग्वार्को
सोमबारको नेपाल बन्दलाई लक्षित गरी ग्वार्को, लगनखेल, सानेपा र कोटेश्वरमा प्रेसरकुकर बम राखिएको थियो । ती सबै ठाउँमा राखिएको बम सेनाको टोलीले डिस्पोज गरेको छ । तर, नागढुंगामा भने विप्लव समूहका कार्यकर्ताले लक्षित ठाउँमा नपुर्याउँदै बम विस्फोट भएको छ । गुडिरहेको मोटरसाइकलमा विस्फोट हुँदा बुद्ध लामा र विक्रम लामा घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ, तर कुकरबम बोकेको आरोपमा प्रहरीले कोटेश्वरबाट सातजना पक्राउ गरेको छ । 
सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाइ छ । सुकेधारा र घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

विस्फोट विप्लव समूह

विशेष