विस्फोटक पदार्थसहित विप्लव समूहका ७ कार्यकर्ता पक्राउ
काठमाडौं । राजधानीका दुई ठाउँमा भएको विस्फोटपछि प्रहरीले कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार साँझ गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक श्रीधर खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिबहादुर सुनार, बुद्धिलाल पुन, डम्बरबहादुर तामाङ, चित्तकमल ओली र राकेश श्रेष्ठ रहेका छन् । उनीहरूका साथबाट प्रेसरकुकर चार थान, मोटरसाइकल एक थान, नौ थान मोबाइल र पर्चा बरामद गरेको प्रहरीले जनाएको छ ।
आइतबार अपरान्ह काठमाडौंमा छुट्टाछुट्टै दुई स्थानमा बम विस्फोट हुँदा चार जनाको ज्यान गएको थियो भने चार जना घाइते भएका छन्। काठमडौंको अनामनगर र सुकेधारमा बम विस्फोट भएको हो।
अनामनगरमा ४:१५ मा घरको कोठाभित्र विस्फोट हुँदा विप्लव समूहको विद्यार्थी संगठनका सिटिइभिटी कमिटीका अध्यक्ष प्रज्वल (विशाल) शाहीको मृत्यु भएको छ। सो कोठामा सँगै रहेका पश्चिम रुकुमको सानीभेरीका रविन केसी घाइते भएका छन् ।
त्यस्तै, आइतबार ४:१५ कै समयमा सुकेधारास्थित सैलुनभित्र विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । विस्फोटको समयमा सैलुनका सञ्चालक छोटेलाल ठाकुरबाहेक नेवाः मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जन, ट्रेड युनियनका अध्यक्ष हरि खड्का, सैन्य विभागका मध्यकमान्ड इन्चार्ज महावीर र अर्का कार्यकर्ता दीपेनलगायत रहेको प्रहरीले जनाएको छ । घाइतेमा एकजना छोटेलाल छन्, मृत्यु क–कसको भयो भन्ने खुलेको छैन ।
आइतबार साँझ गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा सुरक्षा बैठक बसेको थियो । बैठकमा विप्लव समूहप्रति थप कडा रूपमा प्रस्तुत हुन मन्त्रीले निर्देशन दिएका थिए ।
नेत्रविक्रम चन्द विप्लव