News

‍खुल्यो तातोपानी नाका, ४ वटा कन्टेनर खासा पुगे

‍खुल्यो तातोपानी नाका, ४ वटा कन्टेनर खासा पुगे

सिन्धुपाल्चोक । भूकम्पलगत्तै बन्द भएको उत्तरी तातोपानी नाका चारवर्षपछि सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा खाली कन्टेनर ऊन ल्याउन खासा पठाए पछि नाका खुलेको हो ।

नेपाल–चीन पास प्रक्रिया पूरा गरेर ऊन ल्याउन खासा प्रवेश गराउँदै तातोपानी नाका व्यवसायिक रुपमा खुलेको हो सोमबार दश जना लोडर र कन्टेनरलाई पास दिइए पनि चीन पक्षबाट बल्ल सहमतिको खबर पाइएपछि काम थालिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए ।

नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडकको पुल हुँदै खाली कन्टेनर गएका हुन् । सोमबार बेलुकी नै ४ वटा कन्टेनर ‘पास सिस्टम’सकेर तयारी हालतमा थिए । बुधवार चार वटा कन्टेनर ऊन लिएर नेपालमा नाका खुलेको संकेत दिँदै सो सामाग्री राजधानी पुर्‍याइनेछ ।

तातोपानी भन्सार कार्यालय र अध्यागमनदेखि उद्योग वाणिज्य संघसँग समन्वय गरेर कामलाई थालनी गरिएको सीमाका जनप्रतिनिधिले बताएका छन् । नेपालतर्फ नयाँ भवन नबनेका कारण अध्यागमन, भन्सार चेकपोष्ट र सीमा सुरक्षाको कार्यालय मितेरी पुल नजिकै रहनुपर्ने कारणले पुरानै भवन प्रयोगमा ल्याइनेछ । त्यसैको लागि यहाँको संरचना रंगरोगन गरेर चिटिक्क पारिएको छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

तातोपानी नाका

विशेष