जनता रुवाएर बाहिरिए सिक्किमका मुख्यमन्त्री
राजनीतिज्ञहरुले औंला ठड्याएर भाषण गर्ने गर्छन– ‘इतिहास जित्नेको झोला हो ।’ अहँ हैन, यदि तपाईं राम्रो काम गरेर जनताको मन, मुटु र मस्तिष्कमा बास बस्न सफल हुनुहुन्छ भने चुनावी अंकगणित तलमाथि होला, तर मूल्यांकनको कसीमा अब्बल ठहरिनु हुनेछ । जनताभित्रको हार्ड डिस्कमा बसेको मेमोरी कुनै भाइरसले मेटाउन सक्ने छैन् । यही प्रमाणित गरेका छन्– सिक्किमका निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङले ।
साढे दुई दशक सिक्किममा एकछत्र राज गरेका पवन सत्ताबाट ‘रिङ आउट’ भएका छन् । त्यो पनि कुनै बेलाका उनकै भक्त कार्यकर्ता प्रेमसिंह गोलेबाट । नयाँ मुख्यमन्त्री प्रेमसिंहले जनतालाई भनेका छन– ‘मलाई २५ हैन, ५ वर्ष भए पुग्छ । पाँच वर्षमा म जनतासंग गरेका सबै प्रतिवद्धता पूरा गर्छु ।’
अझ रोचक संयोग के छ भने १४ वर्ष एकल शासन गरेका नरबहादुर भण्डारीलाई उल्ट्याएर २५ वर्षे झण्डा गाड्न पवन सफल भए । पवनको राजनीतिक गुरु तिनै नरबहादुर थिए । राजनीतिमा उनको एकपटकलाई खेप गएको हो, तर जिन्दगी गएको होइन् । तर उनीमाथि जनताको भावना यसरी प्रकट भयो कि रुँदै कराउँदै समर्थक सडकमा देखिए । के बृद्ध, के बालक, के महिला पवनको हारमा शोक गरे ।
२५ वर्षपछि सरकारी निवास मिन्तोकगाङबाट बाहिरिंदा चाम्लिङ जति भावुक देखिन्थे, उति जिम्मेवार पनि । विधानसभामा एक सिटको फरकले २५ वर्ष लामो शासन उल्टिएपछि मुख्यमन्त्री चाम्लिङले राजिनामा दिएका हुन् । ३२ सदस्यीय विधान परिषदमा १७ सिटमा विजयी भएर सिक्किम क्रान्तिकारी मोर्चाले चाम्लिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) लाई १५ सिटमा सीमित गरेपछि एक सिटको अन्तरमा चाम्लिङले सत्ता गुमाएका थिए । आफ्नो पार्टी अल्पमतमा परेपछि विपक्षमा बस्ने घोषणासहित चाम्लिङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
सन् १९९४ को १२ डिसेम्बरका दिन भारतको नेपाली भाषी राज्य सिक्किमका पाँचौं मुख्यमन्त्रीका रूपमा शपथ लिएयता उनी निरन्तर पाँच कार्यकाल मुख्यमन्त्री रहे । नरबहादुर भण्डारीको १४ वर्षे शासनलाई उल्टाएर पवन चाम्लिङ सिक्किमका पाँचौं मुख्यमन्त्री बनेका थिए । त्यसबेला चाम्लिङको पार्टी एसडीएफले ३२ मध्ये १९ सिट जितेको थियो । त्यसपछि १९९९ मा २५ सिट, २००४ मा ३१ सिट, २००९ मा ३२ सिट र २०१४ मा २२ सिट जितेर चाम्लिङ लगातार मुख्यमन्त्री बनेका थिए ।
सिक्किम पवन चाम्लिङ