News

तातोपानी नाकाको औपचारिक उद्घाटन आज

तातोपानी नाकाको औपचारिक उद्घाटन आज

काठमाडौं । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका आजबाट पुनः सञ्चालनमा आउने भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार नेपाल चीनको प्रमुख व्यापारिक उक्त नाका उद्योग, वाणिज्य तथा आपूर्तिन्त्री र चिनियाँ अधिकारीले बुधबार औपचारिक रुपमा शुभारम्भ गर्ने कार्यक्रम छ । भोटेकोशी गाउँपालिकामा नेपाल र चीन सरकारको अध्यागमन प्रमुखको रोहवरमा १० जना नेपाली र चार वटा खाली कन्टेनरलाई खासा प्रवेशका लागि मंगलबार अस्थायी पास उपलब्ध गराइएको थियो।  

 

सोहीअनुरुप ती कन्टेनर चिनियाँ सामान लिएर बुधबार नेपाल भित्रिने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । नाका खुलाउने सिलसिलामा हिजो चिनियाँ राजदूत होउ यान्छी निरीक्षणका लागि तातोपानी पुगेकी छन् । राजदूत यान्छीले गाउँपालिकाका जनप्रतिनिधिसँग छलफलसमेत गरिन्। अरनिको राजमार्ग र तातोपानी क्षेत्रको सीमापुल निर्माणसहित सबै काम सम्पन्न भइसकेको छ।

 

चीन सरकारको आर्थिक तथा प्रविधिक सहयोगमा लार्चास्थित भोटेकोशीको ११२ मिटर पक्की पुलका साथै ५०० रोपनी क्षेत्रमा फैलिएको अत्याधुनिक सुख्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न भइसकेको छ । यसअघि सीमापुलस्थित लिपिङबाट भन्सारको काम हुँदै आएकामा त्यहाँदेखि ६.५ किलोमिटर तलरहेको लार्चाबाट सबै काम हुने भएको छ । त्यसैगरी अरनिको राजमार्गको बसेरीदेखि सीमापुलसम्मको बाटो चीन सरकार र त्यहाँदेखि बाह्रबिसेसम्म सडक डिभिजन कार्यालय दोलखाद्वारा निर्माण गरिएको इञ्जिनीयर प्रदीप निरौलाले बताए ।  

तातोपानी नाका सिन्धुपाल्चोक

विशेष