News

कोरलामा एनटिसीको मोबाइल सेवा सुरु

कोरलामा एनटिसीको मोबाइल सेवा सुरु

काठमाडौं : नेपाल टेलिकमले हिमाल पारीको जिल्ला भनिने मुस्ताङको अति विकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेरमा जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको छ ।

एक कार्यक्रमका बीच मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट, स्थानीय जनप्रतिनिधिका साथै नेपाल टेलिकमका कर्मचारीको उपस्थितिमा सो साइट सञ्चालनमा ल्याइएको हो ।

दुर्गम तथा विकट हुनुका साथै चीनको सीमानासम्म जोडिएका ती गाउँमा जीएसएम मोबाइल टावर स्थापनाको कार्य निकै कठिनाईका बाबजुद सफलतापूर्वक सम्पन्न गरी जीएसएम मोबाइलको पहुँच पुर्‍याइएको टेलिकमले जनाएको छ । यसअघि सो स्थानमा कुनै पनि मोबाइल सेवाको पहुँच थिएन । अब उक्त क्षेत्रका जनताले टुजी तथा थ्रीजी मोबाइल सेवा लिन सकिने टेलिकमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

टेलिकमका अनुसार उक्त मोबाइल सेवा सञ्चालन पश्चात समुद्र सतहदेखि करिब ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित सो क्षेत्रका ४ गाउँ गर्थु, न्याम्दो, चुङजुङ र कोरलाका १ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुनेछन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।

प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको टेलिकमकी प्रवक्ता प्रतीभा वैद्धले जानकारी दिइन्।

एनटिसी

विशेष