सरकार नै गणतन्त्र मास्न सक्रिय– सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार लोकतन्त्र तथा गणतन्त्र मास्न लागि परेको आरोप लगाउनुभएको छ ।
बुधबार गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसले काठमाडौँको शान्ति बाटिकामा गरेको कार्यक्रममा देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका गतिविधि लोकतन्त्र र गणतन्त्र विरोधी रहेका टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री ओलीलाई आफ्नै मन्त्रीहरुमाथि विश्वास नरहेको र त्यसले शासन व्यवस्था नै खतरामा परेको देउवाको भनाई छ । सरकार विधेयक मार्फत सञ्चार जगत र मानवअधिकार आयोगमाथि नियन्त्रण कायम गर्न लागि परेको भन्दै उहाँले सञ्चार र मानवअधिकारसँग सम्बद्ध क्षेत्रमाथि नियन्त्रणको अर्थ लोकतन्त्र तथा गणतन्त्रमाथिकै प्रहार रहेको तर्क गर्नुभयो ।
देउवाले सरकारको गतिविधिले गर्दा फेरि लोकतन्त्र एवम् गणतन्त्रका लागि लड्नु पर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको अगुवाईमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउने दायित्व पनि कांग्रेसकै भएको बताउनुभयो ।
कार्यक्रमअघि काँग्रेसले प्रभातफेरीको आयोजना गरेको थियो । शान्ति बाटिकाबाट शुरु भएको प्रभातफेरी, जमल, असन, इन्द्रचोक, नयाँ सडक हुँदै रत्नपार्कमा आएर सम्पन्न भएको थियो ।
शेरबहादुर देउवा केपी शर्मा ओली