गणतन्त्र दिवसमा प्रधानमन्त्रीको भाषणः के भने प्रधानमन्त्रीले ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपालीको महान उपलब्धि भएको स्पष्ट पार्दै यो जनताको संघर्ष र वलिदानको प्रतिफल भएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आज आयोजित सभामा प्रधानमन्त्री ओलीले गणतन्त्र – गणहरु, सर्वसाधारणको शासन व्यवस्था भएको बताए ।
जनताका प्रतिनिधिहरुले जनताकै अभिमतमा आधारित भएर शासन गर्ने उच्चतम लोकतान्त्रिक प्रणाली गणतन्त्र भएको स्पष्ट पार्दै उनले जनताका सन्तान मुलुकको सर्वोच्च प्रतिनिधि, राष्ट्राध्यक्ष बन्न पाउने प्रणाली गणतन्त्र नै भएकाले जनताले रुचाएको र जनताले रोजेको व्यक्तिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गणतन्त्र नै वास्तविक अर्थमा जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली र परिपाटी भएको बताए ।
२०६५ सालमा आजकै दिन नेपालमा जनताले गणतन्त्र स्थापना गरको भन्दै प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको पराधीन मानसिकता हाम्रो गौरवपूर्ण संस्कृति हुनै नसक्ने बताए । उनले भने–‘‘जन्मसिद्ध श्रेष्ठताको भ्रमपूर्ण कथ्य कुनै तर्क, तथ्य र वैज्ञानिक सत्यतामा आधारित छैन ।’’
जनताको शासन स्थापना गरिएको गौरवमय ऐतिहासिक दिन भएकाले आजको दिन आम नेपालीको दिवसको दिन भएको उनले बताए । ‘नेपाल र नेपालीको अग्रगमनका लागि नयाँ युगलाई स्वागत गरेकाले गणतन्त्र दिवसलाई हामी उत्सव र चाडका रुपमा मनाइरहेका छौं ।’ उनले बताए । उनले भने–‘गणतन्त्र र राजनीतिक उपलब्धिहरु जनताको कठोर संघर्ष र बलिदानका उपज हुन् । गणतन्त्रका संस्थाहरु जनताद्वारा, जनताका लागि, जनताले नै निर्माण गरेका हुन् । जनताको अभिमतको धरातलमा खडा भएका यी संस्थाहरुको सम्मान हुँदा मात्रै जनताको सम्मान हुन्छ ।’
जनताले प्राप्त गरेका उपलब्धिहरुलाई अस्वीकार गर्ने र ती उपलब्धिहरुको अपमान गर्ने व्यवहार लोकतान्त्रिक गणतन्त्र विरुद्धकै व्यवहार हुने प्रधानमन्त्रीले बताए ।
‘गणतन्त्रलाई संस्थागत गरी जनजीवनको सार्थक अभ्यासमा उतार्न गणतन्त्रका संस्था तथा अंगहरुको मर्यादा र सम्मान गरिनुपर्छ ।’ उनले बताए । ओलीले गणतन्त्रलाई जनताको जीवनस्तर उकास्नका लागि सरकार रोजगारीको अवसर सिर्जना गर्ने, उत्पादन वृद्धि र उपभोग्य वस्तुमा आत्मनिर्भरता बढाउने तथा विकासका आयोजनाको गति बढाउन लागिपरेको दाबी गरे ।
गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा सैनिक मञ्चमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, मन्त्रीगण लगायत उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा अधिकारी लगायत सहभागी थिए ।