क्रुरताको यो हद : बालकको बली चढाएर धामीको शक्ति खोज्ने
धनुषा । धनुषामा अपहरणमा परेका एक बालकको बलीको नाममा हत्या भएको छ । स्थानीय शत्रुधन महतोले मिथिला नगरपालिका–६ का शम्भु साहका अढाइ वर्षीय छोरा आर्यन भन्ने समिर साहको घाँटी रेटी निर्ममतापूर्वक हत्या गरेका हुन्।
हत्यामा संलग्न शाहलाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ।
महतोलाई बुधबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जानकारी दिए।
तन्त्रमन्त्र गरी शक्तिशाली धामी बन्न महतोले बालकको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
यसरी भयो घटनाको पर्दाफास
अढाई वर्षीय बालक गत वैशाख २३ गते आफ्नै घरबाट अपहरणमा परेका थिए । बालककी आमा रेणुदेवी साह घाँस काट्न गएकी थिइन् । सोही मौका छोपेर घरको ढोकामै खेलिरहेका बालकलाई ५५ वर्षीय छिमेकी शत्रुधन महतोले अपहरण गरेका थिए ।
बालक आर्यनलाई महतोले अपहरण गरी रातभर आफ्नै घरमा बन्धक बनाएर राखेका थिए।प्रहरीका अनुसार महतो धामीझाँक्री थिए । धामीको शक्ति आर्जन गरी थप शक्तिशाली हुने अन्धविश्वासले राति २ बजे बालकको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
वैशाख २४ गते राति बलीका नाममा बालकको हत्या गरेपछि महतोले घरपछाडिको बाँसघारीको झाडीमा शव फालेका थिए।
मृतक बालकका हजुरबुवा पिताम्बर साह हलुवाइले महतोविरुद्ध अपहरण तथा बन्धक बनाई ज्यान मारेको कसूरमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन्।
महतोलाई प्रहरीले अदालतबाट पहिलो पटक सातदिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
प्रहरीले महतोले हत्याका बेला लगाएका लुगा र प्रयोग गरिएको धारिलो हतियार समेत बरामद गरेको छ।