हुलाकी र मध्यपहाडी राजमार्ग निर्माण सक्न विकास समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले पुष्पलाल मध्यपहाडी र हुलाकी राजमार्ग निर्माणका काम समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले यस्तो निर्देशन दिएको हो ।
बैठकपछि समिति सभापति कल्याणी खड्काले हुलाकी राजमार्ग अन्तर्गत रहेका पुल तथा कल्भर्टहरुको डिजाईनमा पुनरावलोकन गरी सुनिश्चितता गर्न पनि समितिले निर्देशन दिएको जानकारी दिनुभयो । ‘ हुलाकी राजमार्गको पर्सा जिल्लादेखीको पश्चिम खण्ड, मदनभण्डारी लोकमार्गर जलेश्वर भिट्टामोड सडकको स्थलगत अवलोकन भ्रमण गर्ने निर्णय पनि गरेका छौँ ।’ उहाँले बताउनुभयो ।
बैठकले ती राजमार्गहरुमा पर्ने रुग्ण अवस्थामा रहेका पुलहरुको पहिचान गरी त्यस्ता पुलहरुको निर्माणकार्य समयमै सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।‘ सार्वजनिक खरिद नियमावलीको संशोधन पछि ठेक्का तोडिने सडक तथा पुलहरुको निर्माणको ठोस योजना बनाउन भनेका छौँ । ’ समिति सभापति खड्काले बताउनुभयो ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले रघुवीर महासेठले नियमावलीअनुसार लामो समयसम्म काम सम्पन्न नगर्ने रुग्न ठेक्का खारेजीको प्रक्रियामा जाने बताउनुभयो । ‘काममा ढिलाई गर्ने निर्माण व्यवसायीहरुको ठेक्का सम्झौता खारेज गर्ने प्रक्रियालाई अघि बढाइको छ । काममा ढिलाई गर्ने निर्माण व्यवसायीहरुलाई सचेत गराउन ७ दिने, १५ दिने सूचना जारी गरिएको म माननीय सदस्यहरुलाई स्मरण गराउन चाहन्छु । ’ मन्त्री महासेठले बताउनुभयो ।
मन्त्री महासेठले राष्ट्रिय गौरवको आयोजनाहरुको निर्माण कार्य ४ वर्ष भित्र सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । मध्य पहाडी राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्गको निर्माण कार्य ४ वर्ष भित्र सम्पन्न हुने गरी अघि बढाइएको मन्त्री महासेठको भनाई छ ।
मन्त्री महासेठलले मध्य पहाडी राजमार्गको १३३ वटा पुल मध्ये ७० वटाको निर्माण कार्य सम्पन्न गरिएको तथा हुलाकी राजमार्गको २ सय १९ वटा पुल मध्ये ८० वटाको निर्माण कार्य सम्पन्न गरिएको पनि समितिलाई जानकारी गराउनु भयो ।
बैठकमा समिति सदस्यहरुले भने दिर्घकालीन पूर्वाधारका आयोजना निर्माणमा भइरहेको ढिलाईका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।