विश्वकै लामो हुने केबलकारको सर्भे गर्न अष्ट्रेलियाबाट विशेष विमान
काठमाडौँ । मुक्तिनाथ केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नुअघि सर्भे गर्न अष्ट्रेलियाबाट जहाज नेपाल आइपुगेको छ ।
मौसमले साथ दिएमा तुरुन्तै डिपिआरको काम थालिने मुक्तिनाथ दर्शन प्रालीले जानकारी दिएको छ । अष्ट्रेलियाबाट चार दिन लगाएर सो जहाज बुधबार नेपाल आइपुगेको हो । सर्भेका लागि जहाजमा लेजरलाइटलगायत उपकरण जडान भइसकेको छ ।
कास्कीको नयाँपुलदेखि मुस्ताङको मुक्तिनाथसम्म चल्ने केवलकारका लागि ८४ किलोमिटर दूरीमा सर्भे गरिनेछ । सर्भे १० दिन जतिमा सकिने विश्वास लिइएको छ । सर्भेमा नापी विभागका प्रतिनिधि र मुक्तिनाथ दर्शन प्रालीका प्रतिनिधि सहभागी हुनेछन् ।
८३ दशमलव ६५ किलोमिटर लम्बाइ रहने उक्त केवलकारमा १९ वटा स्टेशन रहनेछन् । शुरुवातको स्टेशन वीरेठाँटी वा नयाँपुलमा हुनेछ । त्यसपछि टिकेढुङ्गा घोरेपानी, सिखा पाखरेबगर, तातोपानी, काभ्रे, घासा हुनेछन् ।
त्यसपछि कालोपानी लेते, कोवाङ चोखोपानी, टुकुटे, मार्फा, जोमसोममा पनि स्टेशन हुनेछन् । त्यस्तै कागबेनीमा अर्को स्टेशन र अन्तिम स्टेशन मुक्तिनाथमा हुनेछ । आठवटा स्टेशनमा यात्रुहरु अनिवार्य रुपमा झर्नुपर्ने र वक्स परिवर्तन गर्नुपर्ने हुन्छ ।
आयोजनाको कूल लागत करिब ५० अर्ब हुने बताइएको छ । यो केबलकार निर्माण भएमा विश्वकै लामो केबलकारका रुपमा दर्ता हुन सक्नेछ ।