News

गौतम बुद्ध विमानस्थलको सञ्चालन जिम्मा विदेशीलाई

गौतम बुद्ध विमानस्थलको सञ्चालन जिम्मा विदेशीलाई

काठमाडौं । सरकारले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन जिम्मा विदेशीलाई दिने भएको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै विमास्थलको दिगो र व्यावसायिक सञ्चालनका लागि सरकार–सरकार सम्झौता गरी जिम्मा दिने बताएका हुन् । उनले भने, ‘विमानस्थल सञ्चालनका लागि नेपाल सरकारले आह्वान गर्नेछ र इच्छुक देशले आवेदन दिनेछन् । जसको आकर्षक प्रस्ताव आउँछ, उही देशलाई सञ्चालनको जिम्मा दिइनेछ ।’ 

 

हालसम्म देशभरका सबै विमानस्थल नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालन गर्दै आएको छ । तर, गौतम बुद्ध विमानस्थल भने चुस्त व्यवस्थापन गरी व्यावसायिक सञ्चालन गर्ने भन्दै विदेशीलाई दिने निर्णय भएको मन्त्री बाँस्कोटाले बताए । विमानस्थलबाट नाफा, सुरक्षा, प्रतिफल र व्यवस्थापनको विश्लेषण गरी प्रतिस्पर्धात्मक बनाउन यस्तो अभ्यास पहिलोपटक थालिएको उनको भनाइ छ ।  

 

अहिले गौतम बुद्ध विमानस्थल धावनमार्ग निर्माणको काम सकिएको छ । टर्मिनल भवन निर्माण चलिरहेको छ । सन् २०१९ को अन्त्यसम्ममा सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको विमानस्थल सञ्चालन विदेशीलाई दिने सैद्धान्तिक निर्णय गरेसँगै टेन्डरको प्रक्रिया अघि बढ्नेछ । यो साचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

विशेष