News मनोरञ्जन समाज

बाबुरामको साथ छाडेकी करिश्मा के गर्दैछिन् ?

बाबुरामको साथ छाडेकी करिश्मा के गर्दैछिन् ?


काठमाडौँ । नेपाली फिल्मकी सदाबहार अभिनेत्री करिश्मा मानन्धरले हालै डा. बाबुराम भट्टराई अध्यक्ष रहेको समाजवादी पार्टी परित्याग गरिन् । भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएपछि करिश्माले अब आफू ताली मात्र पिट्नका लागि राजनीति नगर्ने भन्दै पार्टीबाट अलग हुने घोषणा गरिन् ।

राजनीतिमा सक्रिय रहँदा कुनै पनि विषयमाथि खासै आवाज उठाउने नगरेकी उनले राजनीतिबाट विश्राम लिएसँगै सामाजिक सञ्जालमार्फत् आफ्नो विचार अभिव्यक्त गर्न थालेकी छन् । 


 एक समय नेपाली फिल्ममा लोभलाग्दो सफलता र लोकप्रियता हासिल गरेकी करिश्माले तत्कालीन नयाँ शक्ति पार्टीमा क्रियाशिलता देखाए पनि नयाँ शक्ति पार्टी उपेन्द्र यादवको संघीय समाजवादी फोरमसँग विलय भएपछि उनले हठात् राजीनामा दिइन् । अभिनेत्री मानन्धर यस वर्षको एसईई परीक्षामा पनि सहभागी भईन् । एसईई उत्तीर्ण भए अध्ययनलाई निरन्तरता दिने सोचमा उनी छिन् । 

हालै करिश्माले फेसबुकमा एक स्टाटस लेखिन् जसमा उनले बालाजुमा रहेको एनएफडीसीको जग्गाबारे चासो व्यक्त गरेकी छन् । सरकारले बजेट भाषणको क्रममा देशभर हडपिएका सरकारी जग्गा एक वर्षभित्र फिर्ता ल्याउने घोषणा गरेसँगै उनले फेसबुकमा स्टाटस लेख्दै एनएफडीसीको सरकारी जग्गा बेचबिखन भएको सुन्दा आफू अचम्मित भएको उनले फेसबुकमार्फत गुनासो जनाएकी छिन् । यसको तत्काल छानबिनको माग समेत गरेकी छन् । 
 

उनले फेसबुकमा लेखेकी छिन्– बालाजु औद्योगिक क्षेत्रमा रहेको एनएफडिसी, जुन चलचित्र क्षेत्रको विकास प्रवद्र्धनको लागि उपलब्ध गरिएको थियो, जहाँ नेपाली चलचित्रले आफ्नो शैशव काल बिताउँदै आजको यात्रासम्म आइपुगेको छ ।

पर्दामा देखिने कलाकारदेखि यूनिटलाई चिया बाँड्ने  स्पोर्ट बोइसम्मको दिन रात त्यही वित्थ्यो । हरेक चलचित्रकर्मीले आफ्नो घर जस्तो महशुश गर्ने ठाउँ थियो ।’

अभिनेत्री मानन्धरले सरकारी जग्गाप्रति कसैको चासो नगएकोमा गुनासो पोख्दै अगाडि लेखेकी छन्, ‘आश्चर्य त के लाग्छ भने सारा सञ्चारकर्मी र चलचित्रकर्मीलाई थाहा हुँदाहुँदै पनि कोही चुक्क बोल्नुहुन्न । यिनले जे गर्लान्, म बोल्छु ।’
 
 

विशेष