News

करोडौं नाफा राखेर निगमले किन बढायो इन्धनकाे मूल्य?

करोडौं नाफा राखेर निगमले किन बढायो इन्धनकाे मूल्य?

काठमाडौं । नेपाल आयल निगमले पाक्षिक ७ करोड नाफा राखेर इन्धनको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ बढाएको हो । ‘भारतीय आयल निगमले पठाएको मूल्य सूचीअनुसार सबै इन्धन (पेट्रोल, डिजेल, मटितेल र ग्यास) मा मूल्य बढेको छ’, निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्यसूचि राति १२ बजेदेखि लागू भएको छ ।’ 

 
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ १० पैसा र डिजेलमा २ रुपैयाँ ५७ पैसा बढेको छ। ‘यो ब्रेक इभेन्ट पोइन्ट देखिन्छ’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य थप बढ्न सक्छ ।’ मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ११ रुपैयाँ ५० पैसा र डिजेलको ९८ रुपैयाँ कायम गरेको बताए। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

 

निगम स्रोतका अनुसार मूल्य समायोजनपश्चात् निगमको पाक्षिक नाफा करिब ७ करोड रुपैयाँ छ। ‘मूल्य समायोजन नगर्दा करिब १ करोड नोक्सान थियो’ ती अधिकारीले भने, ‘समायोजनपश्चात् करिब ७ करोड नाफा देखिन्छ।’ सरकारले २०७१ असोजमा स्वचालित मूल्य लागू गरेको थियो। स्वचालित मूल्यअनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ। तर, स्वचालित मूल्य पूर्ण रुपमा कार्यान्वयन भएको थिएन। निगमले झण्डै तीन महिनापश्चात् मूल्य समायोजन गरेको हो। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

 

नेपाल आयल निगम इन्धन

विशेष