भारतमा आएको तुफान 'फानी' को नेपालमा कस्तो प्रभाव ?
काठमाडौं । बंगालको खाडीमा सिर्जित चक्रवाती तुफान फानी दक्षिण पूर्वी राज्य उडिसातर्फ अगाडि बडेको छ । शुक्रबार बिहानसम्ममा तुफानले तटीय क्षेत्रमा प्रभाव पारिसक्नेछ । तुफानको असरस्वरुप भारतको उडिसाको तटीय क्षेत्रमा वर्षात शुरु भइसकेको छ ।
बढी क्षति हुन सक्ने तटीय क्षेत्रबाट लाखौ मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको छ । यो तुफानले भारतका विभिन्न राज्यमा कम्तिमा चार घण्टा वितण्डा मच्चाउन सक्ने भारतीय मौसम विभागले जनाएको छ । जमिनमा तुफानको गति १७५ किलोमिटरदेखि १८५ किलोमिटर प्रतिघण्टा सक्ने उल्लेख छ । यो समयमा समुद्रमा डेढ मिटरसम्मको छाल आउन सक्छ ।
मौषम पूर्वानुमान महाशाखाले नेपालमा यसको प्रभावबारे यस्तो बताएको छ।
चक्रवात “फानी” हाल बंगालको खाडीमा ओडिसा को तटीय क्षेत्र नजिकै अवस्थित छ | आज (शुक्रबार) बाट यो प्रणाली भारतको ओड़ीसा को तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने (Landfall) सम्भावना देखिन्छ | Landfall पश्चात यो प्रणाली फेरी उत्तर-पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ |
उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिले सम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार ) मौसम प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन/चट्टयांग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहको छ भने हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ ।
साथै देशको पश्चिमी क्षेत्रमा आज (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना देखिन्छ र हिमाली भू भागमा पनि हिमपात को सम्भावना रहेको छ । आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना छ ।