कोशी अस्पताललाई विशिष्टिकृत गरिदैँ

कोशी अस्पताललाई विशिष्टिकृत गरिदैँ

विराटनगर । पूर्वक्षेत्रको सबैभन्दा पुरानो विराटनगरस्थित कोशी अस्पतालमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्ताललाई समयसापेक्ष सुदृढ गर्न र घातक रोगको उपचारसमेत गर्न अस्पताललाई विशिष्टिकृत गर्ने प्रयास भइरहेको छ ।

 

विसं २०१३ मा त्रिभुवन स्मारकको नामबाट शुरु गरिएको सो अस्पताल कोशी अञ्चल अस्पताल हुँदै अहिले कोशी अस्पतालमा परिणत भएको छ । चालिस वर्षअघि निर्माण गरिएको सो अस्पतालले अहिलेको बिरामीको चापलाई पूरा गर्न कठिन भइरहेको अस्पतालको ठहर छ ।

 

मुलुक सङ्घीय संरचनामा गइसकेपछि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरमा अवस्थित यो अस्पताललाई प्रदेश सरकारले समयानुकुल बनाउन लागिरहेका बेला पुनः सङ्घीय सरकारकै मातहत राखिएको छ । प्रदेश सरकारले यसलाई शिक्षण अस्पताल बनाउने निर्णय गरिसकेको र प्रदेश सरकारले अस्पताललाई प्रतिष्ठानमा रुपान्तरण गर्न स्वायत संस्था बनाउन लागिरहेको अवस्थामा यो काम रोकिएको हो ।

 

काठमाडौंस्थित वीर अस्पतालसँग सहकार्य गर्न हस्ताक्षरसमेत गरिसकेको यो अस्पतालमा आउने वर्षमा एमबीबीएसको पढाइ शुरु गर्ने र यसवर्ष एमडी कक्षा चाँडै सञ्चालन गर्ने प्रदेश सरकारको तयारी थियो । नेपाल–भारतका गरी दैनिक करीब १ हजार २ सय बिरामी आउने यो अस्पताललाई सुधार गरी सरसफाई , बन्द प्रयोगशाला सञ्चालन, यन्त्र र उपकरण थप्न प्रदेश सरकारले पनि सहयोग गरेको छ ।

 

विगतमा घाटामा सञ्चालित यो अस्पतालमा प्रदेश सरकारको निगरानी र चासो बढ्न थालेपछि मासिक रु तीन लाख आम्दानी गर्न थालेकाले यो अस्पतालप्रति प्रदेश सरकारको आशा जागेको थियो । अस्पतालका बिषयमा प्रदेशसभा सदस्य सावित्रा रेग्मीले अस्पतालमा अहिलेको आवश्यकता अनुसार आईसीयू, भेन्टिलेटर र दरबन्दीअनुसारका चिकित्सक तथा विषयगत विज्ञ चिकित्सकको आवश्यकता देखिएको जानकारी दिए ।

 

उनले यो अस्पतालको स्तरोन्नतिपछि प्रदेशका जनताले उपचारमा सहुलियतका साथै सुविधा उपभोग गर्न पाउने भएकाले यसतर्फ प्रदेश सरकारको विशेष ध्यान जानुपर्नेमा जोड दिए । अस्पतालमा पछिल्लो सयममा प्रसूतिगृहको समस्या देखिएकाले अमेरिकी सेनाको १२ करोड सहयोगमा १ सय श्ययाको प्रसूतिगृह निर्माण थालिएको छ । अस्पतालमा प्रसूतिगृहमा दरबन्दीअनुसारका चिकित्सक नभए पनि गएको वर्षमा नौ हजार प्रसूतिका बिरामीमा २ हजार १ सयको शल्यक्रिया भएको चिकित्सक सङ्गीता मिश्राले बताए ।

 

हाल अस्पतालमा १३ विभाग रहे पनि सबैभन्दा बढी प्रसूतिको सेवा लिने बिरामीको सङ्ख्या प्रतिशत ४० छ ।

संम्बधित खबर

विशेष