अक्षयकुमार क्यानडेली नागरिक, उनीसँग छ क्यानडाको पासपोर्ट
काठमाडौं । वलिउड अभिनेता अक्षयकुमारले आफू क्यानडाको नागरिक भएको स्वीकार गरेका छन् । उनले भारतमा भएको निर्वाचनमा मतदान गरेको तस्बीर सार्वजनिक नगरेपछि उनका विषयमा विवाद सिर्जना भएको थियो ।
सोको जवाफ दिँदै अक्षयले आफूसँग क्यानडाको पासपोर्ट रहेको स्पष्ट पारेका छन् । उनले यो तथ्य आफूले कहिले पनि नलुकाएको तर एकाएक यतिबेला विवाद सिर्जना गरिएकोमा आश्चर्य प्रकट गरेका छन् । उनले आफू सात वर्षदेखि क्यानडा नगएको, सबै काम भारतमा गरिरहेको र भारतमै कर बुझाएको स्पष्ट पारेका छन् ।
उनले भारतप्रतिको आफ्नो माया कसैलाई प्रमाणित गरिरहन आवश्यक छ जस्तो नलागेको र नागरिकताको विषयमा सिर्जित विषय अतिरञ्जनापूर्ण रहेको उनले बताएका छन् ।
भारतलाई अझै शक्तिशाली, समुन्नत बनाउनका लागि आफ्नो तर्फबाट सक्ने सबै प्रकारको योगदान गरिरहने उनले उल्लेख गरेका छन् ।