बर्खास्त गरेका पाइलटलाई १८ लाख तलब दिएर फेरि नियुक्ति

काठमाडौं । सन् २०१४ मा नियुक्त भएका क्याप्टेन आङनुरी शेर्पाले वाई १२ ई विमान उडाउँथे । उनी अमेरिकाको स्थायी बासिन्दा भएको थाहा पाएपछि निगमले उनलाई भविष्यमा स्थायी सेवाका लागि अयोग्य ठहर गरी सेवाबाट बर्खास्त गरेको थियो ।
नेपाल वायुसेवा निगमका कर्मचारीको सेवा र सर्तसम्बन्धी विनियमावलीमा विदेशी पिआर लिएकालाई भविष्यमा निगमको सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने व्यवस्था छ । तर, निगमले विनियमावलीको गलत व्याख्या गरी शेर्पालाई पुनः करारमा नियुक्त गर्यो ।
निगम सञ्चालक समितिको २३ जेठ ०७४ मा बसेको बैठकले ६ वर्ष सेवा गर्ने कबुलियतनामा गरेकाले शेर्पालाई बाँकी अवधि सेवामा लगाउने सहमति व्यवस्थापनलाई दिने निर्णय गरेको थियो । स्थायी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएकालाई पुनः करारमा राखी काम गराउने निर्णय कानुनविपरीत देखिएको ठहर सतर्कता केन्द्रले गरेको छ । यद्यपि, शेर्पालाई कुनै कारबाही भएको छैन । हाल उनी जहाज उडाइरहेका छन् । अहिले उनको मासिक तलब १८ लाख छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
नेपाल वायुसेवा निगम