News

वंशजको नागरिकता वितरणमा सर्वोच्चद्वारा पुनः रोक

वंशजको नागरिकता वितरणमा सर्वोच्चद्वारा पुनः रोक

काठमाडौं । सर्वोच्च अदालतले जन्मसिद्धका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता वितरणमा पुनः रोक लगाएको छ । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको मंगलबारको इजलासले अल्पकालीन आदेशमार्फत वंशजको नागरिकता वितरणमा रोक लगाएको हो ।यसअघिका आदेश कार्यान्वयनमा द्विविधा देखिएको भन्दै कानुनी प्रश्नको निरूपण पूर्ण इजलासबाट हुन आवश्यक र मनासिव देखिएको आदेशमा भनिएको छ । सर्वोच्चले पूर्ण इजलास (तीन वा तीनभन्दा बढी न्यायाधीश रहेको इजलास) बाट सुनुवाइ भई आदेश नभएसम्म गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न–नगराउन भनेको छ । 

 

गत १९ चैतमा गृह मन्त्रालयले वंशजको नागरिकता दिन देशभरका जिल्ला प्रशासनलाई परिपत्र जारी गरेको थियो । गृहको परिपत्र कार्यान्वयनमा रोक लगाउन २४ चैतमा अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्चमा रिट दायर गरेका थिए । नेउपानेको रिटको पहिलोपटक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले २५ चैतमै अन्तरिम आदेशमार्फत रोक लगाएको थियो । सो आदेशलाई गत ३ वैशाखमा सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले खारेज गरेपछि नागरिकता वितरण गर्ने बाटो खुलेको थियो ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

सर्वोच्च अदालत

विशेष