कांग्रेसबाट प्रतिनिधि सभा अवरुद्ध, गृहमन्त्रीको राजीनामा माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा सरकारले धरपकड गरेको भन्दै प्रतिनिधि सभा अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुमैँ नेपाली काग्रेसका सांसदहरु आसनबाट उठेर माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकड गरेको बिषयमा सरकारको जवाफ माग गरेका थिए ।
उनीहरुले सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयकको विरोध गर्दै विधेयक फिर्ता लिन माग पनि गरेका छन् । बैठकमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले माइतीघर मण्डलामा धर्म संस्कृतिको संरक्षणको माग गर्दै संविधानबमोजिम शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारको उपहास भएको बताउनुभयो ।
संविधान विपरीत बारम्बार विधेयक ल्याइएको प्रति आपत्ति जनाउँदै राम्रोसँग संविधान अध्ययन गरेर विधेयक ल्याउन माग गर्नुभयो । उहाले यस माइतिघर घटना र उक्त बिधेयकका बारेमा सरकारको धारणा माग गर्नुभयो ।
त्यसलगतै सभामुख कृष्ण वहादुर महराले प्रतिपक्षीले उठाएका बिषयमा जवाफ दिन भनेपछि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले विधेयकका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले संविधानमा उल्लेख भएका कुरालाई व्यवस्थित एवं एकरुपता प्रदान गर्न गुठीलाई प्राधिकरणमा लैजान खोजिएको बताउनुभयो ।
मन्त्री अर्यालको जवाफपछि पनि सन्तुष्ट नभएका प्रमुख प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । काग्रेस सांसदहरुले धरपकडका बारेमा गृहमन्त्रीले नै जवाफ दिनुपर्ने अडान राखेका थिए ।
विरोध पछि १५ मिनेटका लागि सभाको बैठक स्थगित गरिएको थियो । तर त्यसबीचमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि बैठक सूचना टाँस गरेर मंगलबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।