युरोपेली आकासमा नेपालको पहुँचका लागि उपराष्ट्रपतिको आग्रह

युरोपेली आकासमा नेपालको पहुँचका लागि उपराष्ट्रपतिको आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दरसँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन होफवर्गमा भएको भेटमा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग र सहकार्यका विविध पक्ष बारे कुराकानी भए । 


भेटवार्ताको अवसरमा उपराष्ट्रपतिले युरोपियन युनियनले नेपाल वायुसेवा निगमको यूरोपियन गन्तव्यमा हुने उडानमा सहजीकरण गरिदिन आग्रह गर्नुभयो । सो अवसरमा राष्ट्रपतिले पोल्याण्डको कातोबिच भन्ने शहरमा सम्पन्न संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धीको २४ औँ अधिवेशनका दौरान सुरु गरिएको जलवायु परिवर्तन सम्बन्धी लक्ष्य बढाउने अभियानमा समर्थन गरिदिन नेपाललाई आग्रह गर्नुभयो ।


सोही दिन उपराष्ट्रपति  संयुक्त राष्ट्र संघको ‘भियना अन्तर्राष्ट्रिय केन्द्र’को ४० औं वार्षिकोत्सव समारोहमा सहभागी हुनुभयो । यसैगरी उहाँ अष्ट्रियाको टेरोल प्रान्तको ईन्सबु्रक सहरमा भियनास्थित नेपाली राजदूतावासद्वारा आयोजित अन्तर्राष्ट्रिय सगरमाथा दिवस समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभयो । 


अष्ट्रियामा रहँदा उपराष्ट्रपति भियनाको होफवर्ग प्यालेसभित्र रहेको वेल्ट संग्रहालयमा जारी नेपाली कला प्रदर्शनीको अवलोकन गर्नुभयो । साथै, भियनास्थित नेपाली दूतावासले गरेको स्वागत समारोहमा उपस्थित भएर नेपाली समुदायसँग अन्तरक्रिया  गर्नुभयो । 


प्रतिनिधि मण्डलमा उपराष्ट्रपति पत्नी हस्तमाली पुन र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, भियनास्थित नेपाली राजदूत लगायत उपराष्ट्रपतिको कार्यालय, पराष्ट्र मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता थियो । 

                  
 

उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रिया

संम्बधित खबर

विशेष