सप्तरीमा बजार अनुगमन तीब्र
स्थानीय बजारमा दैनिक उपभोग्य बस्तुमा मिसावट, बासी र सडेगलेका तथा म्याद सकिएको सामाग्री बिक्री भइरहेको जनगुनासोपछि राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ कार्यालय र राजविराज नगरपालिकाले स्थानीय प्रशासनको समन्वय र सहयोगमा शनिबारदेखि बजार अनुगमन तीब्र बनाएको छ ।
लगातार ३–४ दिनसम्म नगर क्षेत्रभित्र गरिने अनुगमनको पहिलो दिन नगर क्षेत्रभित्र संचालित एक दर्जन मिठाई पसल, होटल र किराना पसलको अनुगमन गरिएको हो । यस क्रममा अधिकांश होटलहरुबाट म्याद गुज्रिएको चिसो पेय पदार्थ र मिसावटयुक्त उपभोग्य सामाग्री फेला पारिएको छ ।
त्यस्तै तीनवटा पसल प्रक्रिया पूरा नगरी संचालनमा रहेका पाइएकोले तीन दिन भित्र प्रकृया पुरा गर्न अन्यथा शिलशन्दी गरिने चेतावनीसहितको कागजात गराइएको टोलीमा संलग्न राजविराज नगरपालिकाका सामाजिक विकास अधिकृत मनोज यादवले जानकारी दिए ।
टोलीमा संलग्न राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले पसलमा भेटिएका बासी, सडेगलेका तथा म्याद गुज्रेका उपभोग्य सामाग्री नियन्त्रणमा लिई तत्कालै नष्ट गरेकी थिइन् भने कतिपय तत्काल नष्ट गर्न नसकिने खाद्यबस्तु ट्रयाक्टरमा हाल्न लगाई सुरक्षित ठाउँमा लगी नष्ट गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।
टोलीमा संलग्न राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ कार्यालयकी अधिकृत मनमाया रानामगरले बजारमा अखाद्य बस्तु तथा म्याद गुज्रेका उपभोग्य सामाग्रिको बिक्रि बितरण भइरहेको जनगुनासोपछि विभिन्न कार्यालय तथा संघ संस्थाको समन्वयमा अनुगमन थालिएको बताइन् ।
टोलीमा आयोग कार्यालयका अधिकृत गणेशराज जोशी, रेखा दत्त, दीपक कार्की, उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकरदास, प्रहरी निरीक्षक रिता पौडेल, गैर सरकारी महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, राष्ट्रिय उपभोक्ता मञ्चका राजकुमार गुप्ता, न्यायिक उपभोक्ता मञ्चका रामनारायण यादव तथा संचारकर्मीहरुको सहभागिता रहेको छ ।
सप्तरीमा बजार चिसो पेय पदार्थ