News

आन्दोलनमा उत्रिएका थलीबासी बीच तीनबुँदे सहमति, मूलपानी–डाँछी सडकखण्डको आवागमन सुचारू

आन्दोलनमा उत्रिएका थलीबासी बीच तीनबुँदे सहमति, मूलपानी–डाँछी सडकखण्डको आवागमन सुचारू

काठमाडौं : आन्दोलन पक्ष र नगरपालिकाबीच तीनबुँदै सहमतिपछि थलीको बाटो खुलेको छ।

तत्काल हिलो सोहोर्ने र एक हप्ताभित्र बाटो सम्याउने सहमतिपछि अबरुद्ध मूलपानी–डाँछी सडकखण्डको आवागमन सुचारू भएको हो। बाटो पिच नभएर वर्षौं सास्ती बेहोरेपछि आजित भएर थलीबासी मंगलबार सडकमा उत्रिएका थिए।

केहीबेरअघि नगरपालिका र आन्दोलनरत नेपाल विद्यार्थी संघबीच ३ बुँदे सहमति भएको हो। सहमतिअनुसार नगरपालिकाले चाबहिल–साँखु सडक खण्डअन्तर्गत सानोथली ओह्रालोदेखि व्यञ्जन पार्टी प्यालेससम्मको बिग्रिएको बाटो बनाउने सहमति भएको छ ।

वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालेको भए पनि थलीबाट साँखु जाने सडकखण्ड कालोपत्र नभएको भन्दै सो क्षेत्रका स्थानीयवासी आन्दोलित बनेका हुन्।

सलम्बुटारदेखि इन्द्रायणी, नयाँपाटी, डाँछी, थलीलगायतका सडकमा ठूला–ठूला खाल्डाखुल्डी छन्। दैनिक आवतजावत गर्नुपर्ने हजारौँ सवारीसाधन र उपभोक्ताले सडककै कारण निकै कष्ट भोग्नुपरेको स्थानीयवासी जयराम पुडासैनीले बताए ।

स्थानीयवासीले कुनै पनि सवारीसाधन चल्न नदिई सडक अवरुद्ध गरेका थिए । सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार, स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधिलाई समेत ध्यानार्कषण गराउँदै प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले कान्तिपुर क्याम्पस अगाडि, मिलनचोक र थलीमा सडक अवरोध गरेका थिए । सडक निर्माण छिटो गर्नुपर्ने स्थानीयवासीको माग थियो ।

सरकारले गत साल २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले सम्पन्नता पाउन सकेको छैन ।

थली आन्दोलन

विशेष