राज्य व्यवस्था समितिविरुद्ध सडक आन्दोलन

स्थानीय तहमा कर्मचारी नियुक्त गर्ने विज्ञापन तत्काल रद्द गर्न लोक सेवा आयोगलाई संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनको विरोधमा काठमाडौंमा आन्दोलन सुरु भएको छ ।
लोक सेवा तयारी तदर्थ संघर्ष समिति नाम दिएर सडकमा आएको युवा समूहले राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले सरकार र लोक सेवा आयोगलाई दिएको सो निर्देशन मान्य नहुने चेतावनी दिँदै काठमाडौंको माईतीघर मण्डलामा मंगलबार बिहानबाट आन्दोलन सुरु गरेको हो ।
संघर्ष समितिमा आवद्ध विद्यार्थीहरुले संसदीय समितिले संविधान, कानुन र जनताको हित विरुद्ध निर्देशन दिएकाले त्यस विरुद्ध सडक संघर्ष शुरु गर्नु परेको बताएका छन । उनीहरुले राज्य व्यवस्था समितिले निर्देशन फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।
विद्यार्थीहरुले स्थानीय तहमा करारमा कर्मचारी राखेर लोक सेवा आयोगको अधिकार क्षेत्रमाथि हस्तक्षेप नगर्न समेत समितिलाई चेतावनी दिएका छन ।
संघर्ष समितिले ‘जनताको हितविरुद्ध निर्णय लिने राज्य व्यवस्था तथा सुशासन समिति चाहिँदैन’, ‘लगायतका चर्का नाराबाजी गर्दै राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनप्रति आक्रोश व्यक्त गरेका थिए ।
सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले संविधानको मर्म विपरित लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि विज्ञापन खुलाएको निष्कर्ष निकाल्दै रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो ।
लोक सेवा आयोग विरोध–प्रदर्शन