News

यमन र माली शान्ति मिसनमा नेपाल प्रहरी खटिँदै

यमन र माली शान्ति मिसनमा नेपाल प्रहरी खटिँदै

काठमाडौं । राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुक यमन र मालीमा शान्ति स्थापनार्थ नेपाल प्रहरीलाई खटाउने भएको छ । यमनका लागि प्रहरी अधिकृतको नाम सिफारिस भइसकेको छ भने माली शान्ति मिसनमासमेत पठाउन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । पर्यवेक्षकका रूपमा राष्ट्रसंघले नेपाल प्रहरीलाई यमन र मालीमा खटाउन लागेको हो । फ्रेन्च भाषामा पोख्त प्रहरी ती देशमा पठाउन लागिएको छ ।


यमनका लागि तीन प्रहरीको नाम सिफारिस भइसकेको प्रहरीको युएन शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डेले बताए । मालीमा खटाउनेबारे पनि छलफल भइरहेको उनले बताए । गत कात्तिकदेखि नेपाल प्रहरी कंगो मिसनमा समेत खटिँदै आएको छ । १७ वर्षपछि नेपाल प्रहरी राष्ट्रसंघअन्तर्गत कंगो मिसनमा खटिएको हो । जहाँ हाल चारजना प्रहरी कार्यरत छन् । 

 

मिसन जान फ्रेन्च जान्नुपर्ने 
हाल नयाँ मिसनहरूमा जानका लागि प्रहरी अधिकारीहरूले अंग्रेजीका साथै फ्रेन्च भाषासमेत जान्नुपर्ने भएको छ । त्यसैले प्रहरीमा फ्रेन्च पढ्ने लहरसमेत सुरु भएको छ । पछिल्लोपटक प्रहरी जान थालेका मिसनमा फ्रेन्च अनिवार्य गरिएको छ । कंगो मिसनमा पनि फ्रेन्च जान्ने प्रहरीलाई मात्र पठाइएको छ । फ्रेन्च मिसनहरूमा प्रस्ताव आएपछि प्रहरीले आफैँ पनि भाषा पढाउन थालेको छ । 
 

२० प्रतिशत महिला 
राष्ट्रसंघीय मिसनहरूमा महिला प्रहरीले प्राथमिकता पाउने भएका छन् । मिसनमा जानेमध्ये २० प्रतिशत महिला पठाउन नेपाल प्रहरीले समझदारी गरिसकेको छ । सोहीअनुसार हरेक टोलीमा महिला पठाउन थालिएको एसएसपी पाण्डेले बताए । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

नेपाल प्रहरी यमन र माली

विशेष