News

जहाँ सुरक्षागार्डले बनाउँछन् लालपुर्जा

जहाँ सुरक्षागार्डले बनाउँछन् लालपुर्जा

काभ्रे । कर्मचारी अभावका कारण देखाउँदै जिल्ला मालपोत कार्यालय काभ्रेमा सुरक्षागार्डले लालपुर्जा बनाउने गरेका छन् । कार्यालय सहयोगीले भने मोठ स्रेस्ता भिडाउँछन् । सेवाग्राहीबाट ‘खाजा खर्च’ पाउने भएकाले उनीहरूबीच कामका लागि तँछाडमछाडसमेत हुने गरेको छ । 

प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइरालाले ‘सिद्धान्त र विधि’ ले गार्ड र कार्यालय सहयोगीबाट काम गराउन नमिल्ने भए पनि कर्मचारी अभावका कारण बाध्य भएको तर्क गरे ।

‘काम गराउन त नमिल्ने हो तर सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर परिचालन गरेका हौँ,’ उनले भने, ‘उनीहरूले काम पनि जान्दछन् ।’ ४५ जनाको दरबन्दी भएको मालपोत कार्यालयमा २९ जना मात्रै कार्यरत छन् । तल्लो तहका कर्मचारीले सेवाग्राहीलाई सहयोग गर्ने नाममा उनीहरूबाट ‘लाभ’ लिने गरेका छन् ।

लेखापढी व्यवसायीको पहुँच प्रत्येक कागजपत्र र फाँटमा हुने गरेको छ । कर्मचारीसँग समेत आर्थिक लेनदेन हुने भएकाले लेखनदासले लगेका फाइललाई कर्मचारीले प्राथमिकता दिने गरेको स्रोतले जनाएको छ ।

कर्मचारी अभावका कारण देखाउँदै मालपोत कार्यालय काभ्रेले राजस्व दाखिलामा ढिलाइ गरेको छ । काजमा रहेका लेखापाल चतुर्भुज तिमल्सिना शुक्रबार कोष तथा लेखा नियन्त्रण कार्यालय काभ्रेमा फिर्ता भएपछि आइतबार संकलन भएको ३४ लाख ८९ हजार ५० रुपैयाँ बैंक दाखिला भएन । आइतबार र सोमबार गरी जम्मा भएको १ करोड २६ लाख ४४ हजार २ सय मंगलबार एकमुष्ट जम्मा भएको प्रमुख मालपोत अधिकृत कोइरालाले जानकारी दिए । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

लालपुर्जा सुरक्षागार्ड

विशेष