‘विवादित’ काङनाङ विश्वविद्यालय र त्रिविबीच शैक्षिक सम्झौता
काठमाडौं । दक्षिण कोरियाको क्रिस्चियन धर्म प्रचारक संस्थाका रूपमा स्थापित काङनाङ विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि उपाधि दिएको भोलिपल्टै त्रिवि र सो विश्वविद्यालयबीच पाँच वर्षका लागि शैक्षिक कार्यक्रम आदानप्रदान सम्झौता भएको छ। सो विश्वविद्यालयका प्रेसिडेन्ट सिनिल युनले त्रिविका कुलपतिसमेत रहेका ओलीलाई सो उपाधि प्रदान गरेका थिए।
त्रिविका उपकुलपति तीर्थराज खनियाँले प्रधानमन्त्री ओलीले मानार्थ विद्यावारिधि प्राप्त गरेको भोलिपल्टै बिहीबार प्रेसिडेन्ट युनसँग पाँच वर्ष शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सहमति गरेका हुन्। सो विश्वविद्यालय रहेको क्रिस्चियन धर्म प्रचारक संस्था भन्ने सार्वजनिक भएपछि सो विषय विवादमा परेको थियो।
त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा।डा। भूपप्रसाद धमलाका अनुसार बिहीबार प्रेसिडेन्ड युन त्रिवि उपकुलपति कार्यालयमै आएका थिए। ‘प्रेडिसेन्ड युन र उपकुलपति खनियाँले संयुक्त रूपमा पाँच वर्ष शैक्षिक आदानप्रदान गर्नेबारे समझौतापत्रमा हस्ताक्षर नै गर्नुभएको छ,’ धमलाले भने, ‘काङनाङ विश्ववद्यालय र त्रिविबीचको सम्बन्ध सन् २०१७ मै सकिएको थियो।’
उनले थपे, ‘यस वर्ष प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि उपाधि काङनाङले दिएको भोलिपल्टै त्रिविले पाँच वर्षका लागि सम्झौता नवीकरण गरेको लिखित प्रमाण अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा छ।’ उनले दुवै देशका शिक्षक–विद्यार्थीले विशेष परिस्थितका विद्यार्थीको उच्च शिक्षामा पहुँच कसरी पुर्याउनेबारे शैक्षिक सामग्री, पाठ्य सामग्रीलगायत विषयमा शैक्षिक गतिविधि र अनुसन्धान परियोजना आदान–प्रदान सम्झौता भएको उललेख गरे। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।
त्रिभुवन विश्वविद्यालय काङनाङ विश्वविद्यालय