News राजनीति

कांग्रेस जागरण अभियान : पहिलो चरणको यस्तो छ निष्कर्ष

कांग्रेस जागरण अभियान : पहिलो चरणको यस्तो छ निष्कर्ष


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न माग गरेको छ । चरणको राष्ट्रिय जागरण अभियान सम्पन्न गरेपछि पार्टी मुख्यालय सानेपामा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार पत्रकार सम्मेलन गरि समावेशी सिद्धान्त विपरीत खुलाइएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने बताउनुभयो । करारमा कर्मचारी राख्ने पक्षमा आफूहरु नभएको उहाँको भनाइ छ ।  

 

 गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग

प्रवक्ता शर्माले गुठीसम्बन्धी विधेयक सरोकारवाला पक्षसँग छलफल नगरी ल्याएको बताउँदै सो विधेयकले परम्परा, धर्म, संस्कृतिमाथि अतिक्रमण गर्नै भन्दै फिर्ता लिन सरकारसँग माग गर्नुभयो । वर्तमान सरकार धर्म र संस्कृतिका विषयमा अनावश्यक विवाद सिर्जना गरी द्वन्द्व बढाउने काममा लागेको उहाँकाे आरोप छ । गुठी विधेकको माध्यमबाट धर्म र संस्कृतिको विषयमा अनावश्यक रुपमा प्रवेश नगर्न सरकारलाई प्रवक्ता शर्माले आग्रह गर्नुभयो । प्रधानमन्त्री नै विवादित र धर्मप्रचारक विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि लिने होडमा भन्दै कांग्रेसले सरकार आफैं द्वन्द्व निर्माण गर्ने बाटोमा लागेको उहाँले बताउनुभयाे । 

 

के के भयो जागरण अभियानमा  ?
कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष पनि निकालेको छ । एक महिनाभित्र भएका दुई हजारबढी कार्यक्रममा यस्तो धारणा आम जनताको पाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जागरण अभियानको क्रममा सत्तारुढसहित अन्य दलहरुबाट ३१ हजार ६ सय ४२ जना कांग्रेसमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आगामी भदौ २४ गते विपी जयन्तीको दिनबाट सुरु गर्नेछ । त्यस अघि सो कार्यक्रमका लागि आवश्यक निर्णय लिन असारको तेस्रो साता केन्द्रिय कार्य समितिको बैठक बोलाउने निर्णय गरिएको पनि प्रवक्ता शर्माले जानकारी दिनु भयो । दोस्रो चरणको राष्ट्रिय जागरण अभियान संचालन गर्नु अघि नै नेपाली काँग्रेसले नेविसंघलगायतका भातृ संस्थाहरुको पुनर्गठन गरी सक्ने कार्यक्रम पनि तय गरेको छ ।

 

पत्रकार सम्मेलनपछि जारी गरिएको कांग्रेसको विज्ञप्ति जस्ताको तस्तै 

जागरणको प्रथम चरण र आगामी कार्यक्रम बारे

आदरणीय पत्रकार साथीहरु,

“हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को प्रथम चरण वैशाख २५ मा प्रारम्भ भएर जेठ २५ मा सम्पन्न भएको यहाँहरुलाई विदितै छ । प्रथम चरणबाट प्राप्त ऊर्जा र उपलब्धी, व्यापक कार्यक्रम र टिपोट गरिएका कमजोरी, सौहार्द संवाद र सकारात्मक सन्देश बारे संक्षिप्त विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा म यहाँहरुलाई नेपाली कांग्रेस पार्टीका तर्फबाट हार्दिक स्वागत गर्दछु ।

 

महिना दिन दुई हजार बढी कार्यक्रम
१) जागरण अभियानको प्रथम चरणको प्रारम्भ राष्ट्रव्यापी रुपमा एक साथ भएको थियो । एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगर स्तरीय कार्यक्रमहरु सँगै अन्य विषयगत महत्वपूर्ण भेला र कार्यक्रमहरु तथा कतिपय ठाउँमा वडा स्तरीय कार्यक्रम समेत गरी समग्रमा २ हजार भन्दा बढी कार्यक्रम आयोजना गरिएका छन् ।


२) अभियान क्रममा बैठक, भेला, आन्तरिक सभाहरु, खुला सभा, -याली, विचार–वहस लगायत कार्यक्रम सम्पन्न भएका छन् । कार्यक्रमहरुमा पार्टीका विभिन्न तहका साथीहरु, शुभचिन्तक, वुद्धिजीवी, व्यवसायी र कार्यक्रमको स्वरुप बमोजिम विविध र व्यापक सहभागिता रह्यो । सामाजिक बनोट बमोजिम विभिन्न समुदाय, भाषा–भाषी, युवा–पाकाको व्यापक सहभागिता रह्यो । देशव्यापी अभियानसँगै विदेश स्थित जनसम्पर्क समितिहरु मार्फत पनि अभियानका उद्देश्यहरु एक हदसम्म सम्प्रेषण भएका छन् ।


३) अभियानलाई व्यवस्थित बनाउन ७७ जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि, जिल्ला, क्षेत्र र गाउँ नगरले आवश्यकता अनुसार खटाएका प्रतिनिधि समेत गरी सयौँ प्रतिनिधिहरु विभिन्न तहसम्म पुगेर भूमिका निर्वाह गर्नु भएको छ । सबै प्रतिनिधि साथीहरु बधाइको पात्र हुनुहुन्छ । केन्द्रबाट निर्धारित अभियानलाई आ–आफ्नो जिल्ला र विभिन्न तहमा नेतृत्व गर्नु हुने सबै साथीहरु बधाइको पात्र हुनुहुन्छ ।

 

प्रथम चरणको सन्देश
४) राष्ट्रिय जागरण अभियानलाई पछिल्लो समय कुनैपनि राजनैतिक दलद्वारा प्याकेजमा अघि सारिएको वृहत र नविन कार्यक्रमका रुपमा आम रुपमा लिइएको अनुभूत गरिएको छ ।


(क) पन्ध्र उद्देश्य तर एक साझा अभियान ।
(ख) कार्यक्रमका स्वरुपहरुको छरितो प्रस्तावना ।
(ग) ‘हिमाल, पहाड, तराई—मधेश’ नामसँगैको भावनात्मक ऐक्यवद्धता र सुगम शहरदेखि दुर्गम गाउँसम्म कार्यक्रम ।
(घ) स्थानीय तहसम्म वृहतस्तरमा संवाद, विषय सम्प्रेषण र सुझाव संकलन ।
( ङ ) गणतन्त्र, संघीयता, सुशासन र समृद्धि जस्ता आम सरोकारका विषयहरुमा वौद्धिक छलफल ।
(च )  लामो समय पश्चात नविन कार्यक्रम ।

 

कांग्रेसप्रति आकर्षण सरकारप्रति विकर्षण
वर्तमान सरकारको अधिनायकवाद उन्मुख गतिविधिहरुले सरकारप्रति तीव्र बढाएको असन्तुष्टी जागरण अभियानका क्रममा देशव्यापी रुपमा प्रकट भएको छ । फेरी पनि नेपाली कांग्रेसले आफूलाई नविन ढंगले अघि बढाएर संविधान, संघीयता र सिंगो लोकतन्त्रको रक्षा एवं सम्वद्र्धनको भूमिका निर्वाह गर्नु पर्ने आम अपेक्षा देखिएको छ ।

सोही आशा र विश्वासको भावनाका साथ नेपाली कांग्रेसमा समाहित हुन चाहने आकांक्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको छ । अभियान क्रममा सत्तारुढ पार्टी एवं अन्य पार्टीहरुबाट नेपाली कांग्रेसमा देशभरिका कार्यक्रम मार्फत ३१६४२ ले प्रवेश गरेका छन् । प्रवेश गर्नु हुनेमा साधारण सदस्यता देखि जिल्ला र गाउँ नगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहनु भएका व्यक्तित्वहरु समेत हुनुहुन्छ । उहाँहरुलाई पार्टीले आवश्यक प्रशिक्षण पश्चात उपयुक्त जिम्मेवारी प्रदान गर्नेछ ।

 

कमजोरी पहिचान र आम सुझाव
५) जागरण अभियानका क्रममा पार्टीलाई घरेलु जीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् । नेपाली कांग्रेसलाई सुदृढ र नविन बढाउँदै अघि बढ्न जागरण अभियान क्रममा साथीहरुबाट औल्याइएका कमजोरीहरु आत्मसात गर्दै, तिनलाई क्रमशः निराकरण गर्दै नेपाली कांग्रेस अघि बढ्नेछ ।

 


मेरो रगत कसैको जीवन
यही उद्घोष साथ जागरण अभियानसँगै जिल्ला सम्पर्क समितिहरुको संयोजनमा काठमाडौँमा मासिक रुपमा नियमित रक्तदान कार्यक्रम प्रारम्भ भएको छ । जेठ २३ मा प्रथम रक्तदानमा ७३ पिण्ट रक्तदानसँगै ‘काठमाडौँका अस्पतालहरुमा रगतको अभाव हुन नदिने’ घोषणा गरिएको छ । असारको अन्तिम शनिबार दोस्रो रक्तदान आयोजित हुनेछ ।

 

दोस्रो चरणमा प्रवेश पूर्व
६) “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को दोस्रो चरण पूर्व घोषणा अनुरुप भदौ २४ गते ९विपी जयन्तीका दिन० प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ ।
दोस्रो चरण प्रवेश पूर्व केही महत्वपूर्ण सांगठनिक अभिभारा सम्पादन गरिनेछ । त्यस क्रममा ‘
(क)  प्रथम चरणका लागि जिल्लाहरुमा जिम्मेवारी लिएर खटिनु भएका केन्द्रीय प्रतिनिधिहरुले असार १४ गते भित्र आफ्नो लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनु हुनेछ ।


(ख) पार्टी नेतृत्व र केन्द्रीय प्रतिनिधिहरु बीच यसक्रममा विशेष विर्मश केन्द्रीय कार्यालयले आयोजना गर्नेछ ।
(ग)  जागरण अभियानको प्रथम चरणको समिक्षा, अन्य आवश्यक सन्दर्भ र समसामयिक मुद्दा केन्द्रीत रहेर नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक असार तेस्रो सातामा बस्नेछ ।
(घ)  जागरण अभियानको दोस्रो चरण प्रवेश पूर्व नै नेपालको संविधान र नेपाली कांग्रेसको संशोधित विधान बमोजिमको सम्पूर्ण संरचनाहरु निर्माण गरिनेछ ।
(ङ) नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाहरु बारे आवश्यक निर्णय यथाशीघ्र लिइनेछ ।

 

प्रतिष्ठान अन्तर्गत प्रशिक्षण
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा विभिन्न तहमा प्रशिक्षणका कार्यक्रमहरु जागरण अभियानको दोस्रो चरण पूर्व आयोजित हुनेछन् । यस क्रममा—
(क)  नेपाली कांग्रेसको उम्मेदवार भएर विजयी देशभरिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि ‘सेवा, संगठन र समृद्धि’ केन्द्रीत प्रशिक्षण साउन महिनाको प्रथम साता काठमाडौँमा आयोजना गरिनेछ ।


(ख) सात प्रदेशका जिल्लाहरुलाई १४ फरक समूह बनाई १४ स्थानमा प्रशिक्षण आयोजना गर्ने प्रतिष्ठानको पूर्व निर्णय बमोजिम साउन प्रथम साता नै प्रदेश १ को धनकुटा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण आयोजना गरिनेछन् ।


(ग)  नेपाली जनसम्पर्क समितिहरुका लागि जुन २१—२३ मा डेनमार्कमा आयोजना गरिने प्रशिक्षणमा ३३ देशका नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहनेछ । आन्तरिक संगठनात्मक विषयवस्तुहरुमाथि प्रशिक्षणका अलावा विश्व स्तरीय सो कार्यक्रममा‘
ड्ड नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिका
ड्ड विश्वमा बढ्दो तापक्रम र नेपाल प्रभाव
ड्ड विश्वको बदलिदो राजनीति, दक्षिण एशिया र नेपाल
ड्ड समाजवादको युरोप अनुभवको आलोकमा नेपाल
जस्ता महत्वपूर्ण विषयहरुमा विषगत अन्तरक्रिया हुनेछ ।

 

हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणले अभिवृद्धि गरेको जागरणको जगमा नेपाली कांग्रेस आगामी दिनमा सांगठनिक सुदृढीकरण र राष्ट्रिय राजनीतिको भूमिकामा थप सवल ढंगले अघि बढ्नेछ । अभियानको समाचार निरन्तर सम्प्रेषण गर्न हुने देशभरिका संचार माध्यमहरुलाई हार्दिक आभार प्रकट गर्दछु ।

 

जय नेपाल १
विश्वप्रकाश शर्मा
प्रवक्ता
जेठ ३०, ०७६

विशेष