News

संसद बैठकमा सांसदका आ–आफ्नै गुनासा 

संसद बैठकमा सांसदका आ–आफ्नै गुनासा 


काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभाको विहीबारको बैठकमा सांसदहरुले आ–आफ्ना क्षेत्रका गुनासा पोखे । कतिपय सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए भने कतिपयले मालपोत, कृषि, खेती किसानका समस्या लगायतबारे सदनलाई जानकारी गराए । विहिबारको बैठकको शुन्य समयमा यस्ता थिए सांसदहरुका गुनासा । 

 

सांसद राजेद्र कुमार केसीले राजधानी काठमाण्डौको प्रवेश द्धारको रुपमा रहेको कलंकी नागढुंगा सडक खण्डको निर्माण समयमै सम्पन्न गरि सडकको दाया वाया जग्गा परेका स्थानीय जनतालाई तत्काल मुआब्जा दिने व्यवस्था मिलाउन माग गर्नुभयो ।

 

सांसद भुमि प्रसाद त्रिपाठीले नागढुंगा सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने काठमाण्डौ तर्फको जग्गाको मुआब्जा निर्धारण र वितरणको काम अन्तिम चरणमा पुगेपनि धादिङ तर्फको जमिनको मुआब्जा निर्धारणको काम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

सांसद भरतकुमार शाहले धान रोप्ने समय सुरु हुनै लाग्दा रायायनिक मल अभाव देखिएको भन्दै तत्काल डिएपि र युरिया मलको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

सांसद भवानी प्रसाद खापुङले तेह्थुमको म्याग्लुङ बजार र पाँचथरको स्याब्रुम्बा जोड्ने तमोर नदीको लुम्बुघाटमा पुल निर्माणको सम्झौता भएको ८ बर्ष वितिसक्दा पनि सम्पन्न नभएको भन्दै समयमै निर्माण सम्पन्न गर्ने व्यवस्था मिलाउन भौतिक पुर्वाधार तथा यातायातमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउनुभयो । स्वच्छन्द निर्माण समाजले निर्माणको जिम्मा लिएको सो पुलमा ३ बर्ष यता निर्माण सम्बन्धी केही पनि काम नभएको उल्लेख गर्नुभयो ।

 

सांसद मिन बहादुर विश्वकर्माले विराटनगर रानी देखि संखुवासभाको किमाथांका सम्मको सडक , र विरगञ्जदेखि पथलैयासम्मको सडकलाई व्यापारिक मार्गको रुपमा मानिएको भएपनि त्यसक्षेत्रका सयौ उद्योगहरुलाई बाधा पुग्ने गरि राजमार्गमा बार लगाईएकाले समस्या भएको भन्दै दुर्व सडक खण्ड अन्र्तगत उद्योग अगाडिका बार हटाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

सांसद मेटमणि चौधरीलेले मुलुकभरका गुठी किसानहरु सरकारले ल्याउदै गरेको गुठी विधेयकको पक्षमा रहेको भन्दै न्याय र समतामा आधारित विधेयक ल्याएर गुठी पीडीत किसानलाई न्याय दिलाउन सरकारसंग अनुरोध गर्नुभयो ।

 

सांसद रंगमती शाहीले हुम्लाका लागि लगिएको चामल नेपालगञ्ज र सुर्खेतको गोदाममा थन्किएको भन्दै हुम्लाका जनतालाई हवाईमार्ग मार्फत चामल पुर्याउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

सांसद बृजेश कुमार गुप्ताले अनलाईन सेवा सञ्चालन गरेपनि मालपोत कार्यालयहरुमा दक्ष जनशक्ति नभएकाले सेवा प्रभावित भएको भन्दै दक्ष जनशक्ति पठाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

सांसद राजेन्द्र कुमार राईले धनकुटाको महालक्ष्मी नगरपालिका वडानम्बर ४ मा जेठ १२ गतेको बर्षा संगैको असिना र पहिरोका कारणले ४२ घरपरिवारको ठूलो क्षति पुगेको भन्दै तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभयो । 

 

विशेष