News अर्थ

सार्वजनिक यातायातमा भाडा १२ प्रतिशतसम्म बढ्यो 

सार्वजनिक यातायातमा भाडा १२ प्रतिशतसम्म बढ्यो 

 


काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा १२ प्रतिशतसम्म वृद्धि भएको हो । छोटा तथा लामा दूरीका बस, मिनिबस, माइक्रोबस, ट्रक टेम्पो लगायत सबैखाले सार्वजनिक गाडीमा अधिकतम १२ प्रतिशतसम्म भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । 

 

वैज्ञानिक भाडादरको प्रावधानअनुसार सवारी साधनको मूल्य, इन्धनको मूल्य, गाडीका उपकरणको मूल्य, श्रमिकको ज्यालादरलगायतलाई आधार मानेर १२ प्रतिशत भाडा बढाइएको विभागले जनाएको छ । 

 

बिहीबार यायायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकाको सार्वजनिक गाडीमा ४ किलोमिटर सम्मको न्यूनतम भाडा १४ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ । 

 

ट्याक्सीमा पनि भाडा बढ्यो
सरकारले ट्याक्सीको पनि भाडा बढाएको छ । अब सुरुको एक किलो मिटरसम्म ५० रुपैयाँ  र त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसाका दरले भाडा बढ्दै जानेछ । 


यसअघि सुरुको एक किलोमिटरमा ३९ रुपैयाँ भाडादर रहेको छ ।  यसअघि गएको असोजमा पनि सार्वजनिक गाडीको भाडा १० प्रतिशतले बढाइएको थियो ।

 

बढेको भाडा असार १ गतेदेखि लागू हुनेछ । 

गाडी भाडा

विशेष