News

त्रिवि सेवा आयोगको परीक्षा : केर्दै, अंक थप्दै

त्रिवि सेवा आयोगको परीक्षा : केर्दै, अंक थप्दै

काठमाडौं : त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले ‘बदनियतपूर्वक’ कानुनविपरीतका क्रियाकलाप गरेर आफन्तलाई उत्तीर्ण गराएको भेटिएको छ । उच्च स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्ममा उनीहरूले अस्वाभाविक चलखेल गरेका हुन् ।

सेवा आयोगका पदाधिकारीहरूले प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका कोडिङ, परीक्षण र नतिजा प्रकाशनका क्रममा लोकसेवा आयोगका पदाधिकारीलाई संलग्न गराएनन् । त्रिवि सेवा आयोगमा लोकसेवा आयोगका सदस्य पदेन सदस्य रहने व्यवस्था छ । हाल ब्रह्मदेव राय प्रतिनिधिका रूपमा छन् । उनलाई नै ‘बाइपास’ गरी परीक्षा सञ्चालन गरेको भेटिएको हो ।

उत्तरपुस्तिकामा तीन पटकसम्म केरमेट गरिएका छन् । ‘पहिले ३२ नम्बर दिएको विद्यार्थीको उत्तरपुस्तिका रि–चेकिङका नाममा ४० नम्बर दिइएको छ,’ स्रोतले भन्यो, ‘फेरि केरमेट गरेर ५५/६० नम्बर दिइएको छ । १० वटाभन्दा बढी उत्तरपुस्तिकामा यस्तै समस्या छ ।’ उत्तरपुस्तिका परीक्षणका क्रममा हुने सम्परीक्षणमा सामान्य फेरबदल हुने भए पनि परीक्षकले दिएकै अंक केरमेट र फेरबदल गर्नु गम्भीर त्रुटि भएको हो ।

‘यसरी काटेर नम्बर बढाइएका उत्तरपुस्तिका वाहक नै पछि उत्तीर्ण भएका छन्,’ सेवा आयोग स्रोतले भन्यो, ‘उत्तरपुस्तिका परीक्षणका क्रममा आधारभूत गोप्यताको सिद्धान्त पनि पालना भएको छैन ।’ यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

विशेष