News

मेयरको टिपर र वडाध्यक्षको एक्साभेटरले नदी संकटमा 

मेयरको टिपर र वडाध्यक्षको एक्साभेटरले नदी संकटमा 

सिरहा । अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ। जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो। धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुलमखुला एक्साभेटर र डोजर लगाई दोहन तीव्र पारेको हो।

 

नदीवरपर सञ्चालित ढुंगारोडा उद्योगले नगरपालिका, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसँग गोप्य छलफल गरी कमला नदीमा एक्साभेटरमार्फत उत्खनन तीव्र बनाएका हुन्। जिल्ला समन्वय समिति धनुषाले २०७५ फागुन ३० मा गणेशमान चारनाथ नगरपालिकालाई पठाएको पत्रमा उल्लेख छ, ‘यस नगरपालिकाबाट २०७५ माघ ८ गते (च.नं. ७७२) प्राप्त पत्रमा कमला नदीको बीचभागमा पानीको बहाव फर्काउन जेसिबी (एक्साभेटर) प्रयोगका लागि माग भएको जानकारी प्राप्त भयो।कमला नदीको पुलका पिलर बिग्रिने अवस्थामा पुगेको नगरपालिकाले पठाएको पत्रमा उल्लेख रहेकाले नगरपालिकाका प्रतिनिधिको रोहबरमा सर्वप्रथम पिलरमा माटो हाली मापदण्डभित्र रही कमला नदीको बीच भागमा पानीको बहाव फर्काउन जेसिबी (एक्साभेटर) प्रयोग गरी बालुवा उत्खनन गर्नू।’ पत्रमा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवले हस्ताक्षर गरेका छन्।

 

समन्वय समितिको यसै पत्रलाई आधार बनाएर गणेशमान चारनाथ नगरपालिकाले कमला नदीमा एक्साभेटर र लोडरमार्फत उत्खनन गर्न छुट दिएको हो। नगर प्रमुख रामबाबु यादवले कमलामा भइरहेको दोहन जनहितमा भएको दाबी गरे। उनले भने, ‘नियम कमला नदीमा मात्र लाग्ने हो कि अन्य नदीखोलामा पनि लाग्छ ? महोत्तरीको रातु नदीमा दर्जनौं एक्साभेटर र लोडरले उत्खनन गर्दा गैरकानुनी नठहरिने तर कमलामा दुईचारवटा एक्साभेटरले उत्खनन गर्दा हंगामा हुने?’ यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

कमला नदी टिपर–एक्साभेटर

विशेष