विश्वकपमा आज दुई खेलः श्रीलंका भर्सेस न्यूजिल्याण्ड, अष्ट्रेलिया भर्सेस अफगानिस्तान

विश्वकपमा आज दुई खेलः श्रीलंका भर्सेस न्यूजिल्याण्ड, अष्ट्रेलिया भर्सेस अफगानिस्तान

काठमाडौं । इंग्ल्याण्डमा भइरहेको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । पहिलो खेलमा न्यूजिल्यान्ड र श्रीलंका भिड्दै छन् । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे कार्डिफस्थित सोफिया गार्डेन्स रंगशालामा हुँदैछ । यस्तै अर्को खेल टाउनटनस्थित काउन्टी ग्राउन्डमा साँझ ६ः१५ बजे अस्ट्रेलिया र अफगानिस्तानबीच हुनेछ । श्रीलंकाले एकपटक विश्वकप जितिसकेको छ भने न्यूजिल्यान्डले हालसम्म उपाधि हात पार्न सकेको छैन ।

 

श्रीलंकाले सन् १९९६ को विश्वकपको फाइनलमा अस्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि हात पारेको थियो । श्रीलंकाली टोली सन् २००७ र सन् २०११ मा पनि विश्वकपको फाइनलमा पुगेको थियो । सन् २००७ को फाइनलमा अस्ट्रेलियासँग ५३ रनले पराजित भएको श्रीलंका सन् २०११ को फाइनलमा भने भारतसँग ६ विकेटले हारेको थियो । श्रीलंका र न्यूजिल्यान्डले सन् १९७५ मा सम्पन्न पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागिता जनाउँदै आएका छन् ।

 

न्यूजिल्याण्ड सन् २०१५ को विश्वकपमा फाइनलमा पुगेको थियो ।  यी दुई टिमबीच विश्वकपमा हालसम्म भएका खेलमा श्रीलंका अगाडि देखिन्छ । विश्वकपमा अहिलेसम्म यी दुई टोलीबीच जम्मा १० खेल भएका छन् । १० मध्ये ६ खेलमा श्रीलंका र ४ खेलमा मात्र न्यूजिल्यान्ड विजयी भएको छ । तर पछिल्लो समय वान डेमा न्यूजिल्यान्ड उत्कृष्ट लयमा देखिन्छ । यसको ठीक विपरीत श्रीलंकाली टोली  लय समात्न सकिरहेको छैन । विश्वकपअघि अभ्यास खेलमा पनि श्रीलंका दक्षिण अफ्रिकासँग पराजित भएको थियो । न्यूजिल्याण्डले भने भारतमाथि शानदार जीत निकालेको थियो । याे पटक न्यूजिल्याण्डमा केन विलियम्सन र श्रीलंकाली टिममा दिमुथ कुरारत्ने कप्तान छन् ।  

 

यस्तै, आज नै काउन्टी ग्राउन्डमा अस्ट्रेलिया र अफगानिस्तान खेल्दै छन् । स्मरण रहोस् अस्ट्रेलिया विश्वकपमा सर्बाधिक सफल टिम हो । उसले अहिलेसम्म ५ पटक उपाधि जितसकेको छ । अष्ट्रेलिया गत संस्करणको जिजेता पनि हो । उसले सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा विश्वकप जितेको थियो । अफगानिस्तान भने भर्खरै अन्तर्राष्ट्रिय क्रिकेटमा उदाउँदै गरेको राष्ट्र हो ।  अफगानिस्तानले यसअघि सन् २०१५ को विश्वकप खेलेको थियो । त्यो संस्करणमा अफगानिस्तान समूह चरणबाटै बाहिरिएको थियो । अफगानिस्तानले अस्ट्रेलियाविरूद्धको खेलमा आफ्नो स्पिनलाई सबैभन्दा ठूलो हतियारका रूपमा अघि सार्ने सम्भावना छ ।  

 

एकदिवसीय विश्वकप क्रिकेट

संम्बधित खबर

विशेष