News

सगरमाथा नापी टोलीका एक सदस्यलाई गृहजिल्लामा सम्मान

सगरमाथा नापी टोलीका एक सदस्यलाई गृहजिल्लामा सम्मान

                                                                 फाइल तस्बिर


गलकोट । नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयअन्तर्गतको नापी विभागले पहिलोपटक गर्न लागेको सगरमाथाको उचाइ मापन सफलतापूर्वक सहभागी भई फर्किएका मापन टोलीका एक सदस्य रविन कार्कीलाई गृहजिल्लामा सम्मान गरिएको छ ।

 

नापी विभागले पठाएको चार जनाको टोलीमध्ये कार्की सगरमाथाको चुचुरोमै पुग्ने दुईमध्येका एक हुन् । नेपालले पहिलोपटक सगरमाथाको उचाइ मापनमा सफलतापूर्वकरूपमा जिम्मेवारी पूरा गर्नुभएको भन्दै कार्कीलाई गृहजिल्ला बागलुङमा सम्मान गरिएको हो । सगरमाथा उचाइ मापनमा सफलतापूर्वक सहभागी भई सिङ्गो बागलुङलाई गौरवान्वित तुल्याएको भन्दै जिल्लामा क्रियाशील सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

 

आफ्नो सहकारीको शेयर सदस्य भएर विश्वको अग्लो सगरमाथा आरोहणसँगै उचाइ मापनमा सहभागी भई नेपालीको शीर उच्च राख्न सफल भएको भन्दै सम्मान गरिएको सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले बताए । कार्की जिल्लाको बागलुङ नगरपालिका–८ सिगानामा जन्मेर नापी विभागको अधिकृत भई सगरमाथा मापनमा सफलतापूर्वक सहभागी भएका थिए । सगरमाथा आरोणका क्रममा जति दुःख भए पनि गृहजिल्लाको सम्मानले सबै दुःख सुखमा परिणत भएको सगरमाथा मापन सदस्य कार्कीले प्रतिक्रिया दिए ।

 

सगरमाथा मापनका लागि नापी विभागका मुख्य नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षण सुरजसिंह भण्डारी र अमिन युवराज धितालको समूह अन्तर्राष्ट्रिय गाइड छिरिङजङ्बु शेर्पासहित चैत २६ गते काठमाडौँबाट सगरमाथा मापनका लागि प्रस्थान गरी जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहणसँगै उचाइ मापनको तथ्याङ्क सङ्कलन गरी ९ गते काठमाडौँ फर्किएका थियो ।

सम्मान सगरमाथा मापन

विशेष