क्वेटाको हिन्दु–मुसलमान दंगा सबैभन्दा भयानक (भिडियोसहित)
काठमाडौं । त्रिलोक सिंह थापा क्षेत्री (९५) दोस्रो विश्वयुद्ध लडेका नेपाली योद्धा । उनी दोस्रो विश्वयुद्धका साक्षी हुन् तर उनलाई युद्ध भन्दा पनि कहालीलाग्दो क्वेटा (हाल पाकिस्तान)मा भएको धार्मिक दंगा लाग्छ ।
बिनारक्तपात रंगून कब्जा गरेपछि इन्डोनेसिया हुँदै क्वेटा पुगे उनी । त्यो बेला हिन्दु र मुसलमानबीच धार्मिक उग्रभावको विष रोपिएको थियो । जसका कारण त्यहाँ हजारौं हिन्दु मुसलमान आपसमा लडेर मरे ।
मानिसहरुको शव नभएको स्थान कतै थिए । बालबालिका, महिला, पुरुष, वृद्धवृद्धा कोही बचेनन् । युवती, महिलाहरुको सामूहिक बलात्कार भयो । रगत त सबैको रातो नै थियो, तर मान्छेले नै बनाएको धर्मका नाममा मानिसहरु आपसमा काटमार गरेर मरेको उनले प्रत्यक्ष देखे ।
त्यस घटनापछि उनलाई लाग्यो कि धार्मिक होस् वा सामुदायिक वा जातीय । कुनै पनि प्रकारको अतिवादले मानवजातीले महंगो मूल्य चुकाउनु पर्ने रहेछ ।
जातीयवादलाई नेपालमा पनि बढावा दिने काम भइरहेको छ । सामुदायिक भाव पनि बढ्दो क्रममा छ । यस्तो हुनु कुनै पनि मुलुकका लागि दूर्भाग्य भन्दा बढी केही होइन भन्ने पाका यी योद्धाले जति सायदै कुनै नेपालीले बुझेका छन् ।
इन्डोनेसियामा डचहरुले उपनिवेश कायम गरेका थिए । डचहरुको उपनिवेशबाट त्यहाँका क्रान्तिकारी सुकार्नो नेतृत्वको मोर्चाले विद्रोह गरिरहेको बेला यी योद्धा त्यहाँ पुगेका थिए ।
डचहरुलाई सुकार्नोको विद्रोह निल्नु न ओकल्नुको अवस्थामा पुगिसकेको थियो । त्यस्तो बेला डचहरुले ब्रिटिसको सहायता मागे । ब्रिटिस साम्राज्यले डचहरुको सहयोग र सुकार्नोको विद्रोह दबाउन सेना पठाएको थियो । सेनामा त्रिलोक सिंह थापा पनि थिए ।
इन्डोनेसियामा भएको विद्रोहबारे थापा भन्छन्, ‘मानिसहरुको जुलुसमा मेसिन गन भरर् चलाएर हजारौं मानिसहरु मारिएको थियो । म आफैंले मेसिन गन चलाइनँ । तर म रहेकै फौजले चलाएको गोली लागेर कैयनको ज्यान गयो । त्यसरी सुकार्नोको विद्रोह दबाउने र डचहरुको उपनिवेश कायम गर्न हामीलाई ब्रिटिस सरकारले खटाएको थियो ।’
योद्धाको काम नै युद्ध गर्ने हुन्छ । हाइ कमाण्डले जस्तो आदेश गर्छ, त्यस्तै गर्नु हरेक सिपाहीको कर्तव्य हुन्छ । यस्तो कर्तव्य वर्षौंदेखि नेपाली गोर्खाहरुले पालना गरिरहेका छन् । चाहे त्यो इराक युद्ध होस् वा अफगानिस्तान । बेलायतले लडेको कुनै त्यस्तो युद्ध छैन् होला जहाँ गोर्खाको रगत बगेको नहोस् ।
त्रिलोक सिंह थापा क्षेत्रीका जीवनमा अनेकन घटना र अनुभूतिहरु छन् । जुन उनले विभिन्न भूगोलमा रहेर संँगाले । उनले त्यो सिंगापुर पनि देखेका छन् जुन अहिलेको होइन । उहिलकै । जुन बेला सिंगापुर अहिलेको नेपालको तराईका स साना गाउँहरु जस्तो थियो ।
दश वर्षअघि उनी सिंगापुर गएका थिए । आफू बसेको, काम गरेको सैनिक क्याम्प पस्न खोजे । तर त्यहाँ उनलाई पस्न दिइएन । उनले आफू दोस्रो विश्वयुद्धताक यहीँ काम गरेको त्यहाँका सुरक्षाकर्मीलाई सुनाए । तर सुरक्षामा खटिएकाहरुले भने, ‘त्यो पुरानो जमानाको कुरा हो । यो अहिलेको जमाना हो । प्रवेश गर्न मिल्दैन ।’
उनले धेरै दुःख मनाउ गरेनन् । किनभने थापासँग दुःख मनाउ गर्नका लागि जीन्दगीले दिएका अरु नै चोटहरुको कुनै कमि छैन ।
उनले हङकङको समृद्धि यात्रा पनि देखे । भारत–पाकिस्तान विभाजन पनि देखे । राजा त्रिभुवनदेखि ज्ञानेन्द्रसम्मको सत्ता पनि हेरे । उनीसँग इतिहासका त्यस्ता कैयन पन्ना छन् । जो अलिखित छन् ।
उनको बेलामा आवाज नआउने सिनेमा पनि हेरे । पछि आवाज वा अडियोसहितको सिनेमा देखाउन थालियो । रंगीनका कुरा त धेरै पछि । उमेर हुँदा तीन केजी खसीको मासु एक्लैले एकै बसाइमा सिध्याउँथे । आजकल अमिला फलसमेत खान हुँदैन । दुःख भूल्न, सुख बढाउने उनको उपाय अहिले पनि चलि नै रहेको छ । सूर्य अस्तः दुई पेगमा योद्धा मस्त ।