सत्तारुढ दलकै सांसद भन्छन– सञ्चारमन्त्री राजीनामा देऊ

सत्तारुढ दलकै सांसद भन्छन– सञ्चारमन्त्री राजीनामा देऊ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद रामवीर मानन्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाको राजिनामा माग गर्नुभएको छ । 

शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेता मानन्धरले गुठीलाई सामन्ती प्रथासंग जोडेकोमा कडा आपत्ति जनाउँदै राजिनामा दिनुपर्ने बताउनुभएको हो । सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । 


उहाँले मुलुक चिनाउने गुठीलाई सामन्तवादको सूचक भनेको भन्दै मानन्धरले राजिनामा नै माग्नुपर्ने अवस्था आएको बताउनुभयो । सरकारले ल्याएको गुठी विधेयकले कसैलाई फाइदा नहुने मानन्धरको दावी छ । 


साक्षात्कारमा प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसद भिमसे दास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताउनुभयो । गुठी विधेयककै कारण संघीयतासमेत धरापमा परेको भन्दै प्रधानले प्रधानमन्त्री केपी ओली नै संघीयताविरोधीको रुपमा देखा परेको जिकिर गर्नुभयो । 

साक्षात्कारमा पशुपति विकास क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनले पनि सरकारले ल्याएको गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभयो ।

उहाँले गुठियारहरुको सम्मान गर्दै  उचित निर्णय लिन सरकारको ध्यानाकर्षण गर्नुभयो । 

सांसद रामवीर मानन्धर

संम्बधित खबर

विशेष