कृषि विश्वविद्यालयले सोचअनुसार काम गर्न सकेनः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि तथा वनविज्ञान विश्वविद्यालयले स्थापनाको औचित्य पुष्टि गर्न नसकेको भन्दै आलोचना गर्नुभएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयको आयोजनामा शनिवारदेखि सुरु भएको कृषि प्रदर्शनी तथा कृषक मेला २०७६ को शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले विश्वविद्यालयको परिकल्पना अनुसार विश्वविद्यालयले काम गर्न नसकेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो–‘राजनीतिक दल र सरकारमा गहन छलफलपछि कृषि विश्वविद्यालय स्थापना भएको हो । यसले जसरी गति लेला, अध्ययन र अनुसन्धान, प्रचारप्रसारको प्रक्रिया, उत्पादनसंग यसको सम्बन्ध, किसानको जीवनसंग यसको प्रभावकारिता जे परिकल्पना गरिएको थियो, त्यो परिकल्पना अनुसार काम भएको त्यति देखिएन, बरु अरु विश्वविद्यालय जस्तै अर्को विश्वविद्यालय थपिएको जस्तो मात्रै भएको छ ।’
अध्यक्ष प्रचण्डले यस विश्वविद्यालयलाई उत्पादन वृद्धि र रोजगारी सृष्टिको अध्ययन, अनुसन्धान, प्रचारप्रसार र वितरणको एउटा नयाँ अभियानको थालनी कर्ताको रुपमामा अगाडि लैजान जरुरी रहेको बताउनुभयो । उहाँले विश्वविद्यालयको विकासमा र आत्मनिर्भरता तिर नयाँ मोडलको कृषि विकास तिर लैजान सबैको संकल्प चाहिने भन्दै सरकार त्यसतर्फ अघि बढेको बताउनुभयो । उहाँले यसका लागि सबैले आफ्नो ठाउँबाट मेहनत र संकल्प गर्न आवश्यक रहेको बताउनुभयो ।
यसै क्षेत्रका सांसद समेत रहेका प्रचण्डले सामुहिक खेती प्रणाली तिर मोडालिटीको विकास गर्नका लागि ध्यान दिन विश्वविद्यालयलाई सोच्न सल्लाह दिनुभयो । उहाँले कृषिलाई आधुनिकीरण र व्यावसायिकरण, कृषिमा उतपादन वृद्धि, युवाहरुलाई परिचालन गर्ने नयाँ अभियान नचलाएसम्म विकासको समस्या यथार्थमा समाधान हुन नसक्ने दावी गर्नुभयो ।
उहाँले विकासलाई गति दिन नसक्दा नै नेपालमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले कृषि क्षेत्रमा विज्ञान र प्रविधिको राम्रो प्रयोग र अध्ययन अनुसन्धानलाई किसानको उत्पादनको वृद्धिसंग जोड्न सकेको भए तीन करोडलाई मात्र नभइ १० करोडलाई पुग्ने उत्पादन नेपालमै हुने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो–‘हाम्रो मूख्य संभावना भनेकै कृषिमा आधारित अर्थतन्त्र र कृषिमा आधारित उद्योगद्धारा मात्रै हो, नेपालमा आर्थिक क्रान्ति र आर्थिक समृद्धिको नयाँ युगको सूत्रपात गर्न संभव छ ।’
कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, कृषि मन्त्रालयका सचिव युवकध्वज जोशी, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विश्वविद्यालयका रजिष्टार मनराज कोलाक्षपतिले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम विश्वविद्यालयका उपकुलपति प्रा.डा.इश्वरीप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । चारदिन सम्म चल्ने मेलामा विभिन्न ५० वटा स्टल रहेका छन् ।