संसद्को विकास खर्चले सांसदलाई विलासी साधन
काठमाडौं : निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदलाई ६ करोडका दरले बजेट छुट्याएपछि जनस्तरबाट सरकार निकै आलोचित भयो । कतिपय सांसदले पनि विरोध जनाए ।
६ करोडको तरंग सेलाउन नपाउँदै अब सांसदले कम्तीमा एक–एक लाख पर्ने ल्यापटप पाउने निश्चित भएको छ । संसद् सचिवालयले सबै सांसदलाई ल्यापटप किन्न साढे तीन करोड छुट्याएर टेन्डर आह्वान गरिसकेको छ । संसद्कै साढे ६ करोड विकास खर्चबाट संसदीय समिति सभापतिहरूका लागि ११ वटा गाडी पनि खरिद गरिँदै छन् ।
विकास खर्च शीर्षकमै सरकारले दिएको थप साढे ६ करोडले संसद्ले ११ वटा गाडी खरिद गर्दै छ । सचिवालयले संसदीय समिति सभापतिहरूका लागि गाडी खरिद प्रक्रिया अघि बढाइसकेको हो । ११ गाडी खरिदका लागि टेन्डर आह्वान गरिएको र टेन्डरको म्याद १ असारमा सकिएपछि कम्पनी छनोट गरेर खरिद गरिने सचिवालयले जनाएको छ । जब कि एक महिनाअघि मात्रै सचिवालयले अर्थ मन्त्रालयको स्वीकृतिमा पाँचवटा गाडी किनेको थियो । अहिले संघीय संसद्मा ९२ गाडी छन् ।
‘संसदीय समिति सभापतिका लागि नयाँ गाडी खरिद गर्नुपर्ने स्थिति छ । पाँचवटा नयाँ गाडी खरिद भइसकेका छन् । थप ११ वटा गाडी खरिद गर्न लागिएको हो । संसद्मा भएका पुराना गाडी मर्मत गर्नुपर्ने, समिति सभापति लामो यात्रामा जाँदा बाटोमै बिग्रिने समस्याका कारण नयाँ नै खरिद गर्न लागिएको हो,’ संसद् सचिवालयका एक सचिवले भने । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।