यार्सा टिप्न गएका तीनको मृत्यु,सयौँ बिरामी पर्दा उपचारमा समस्या

यार्सा टिप्न गएका तीनको मृत्यु,सयौँ बिरामी पर्दा उपचारमा समस्या

डोल्पा । यार्सागुम्बा टिप्ने क्रममा छुट्टाछुट्टै यार्सापाटनमा तीनजनाको मृत्यु भएको छ ।

यार्सागुम्बा टिप्न डोल्पाको फूलबारी पाटनमा गएका जाजरकोटका दुई युवाको लेक लागेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका १, दलित आगरका १८ वर्षीय कृष्ण नेपाली र सोही गाउँपालिका-६, धुमका १८ वर्षीय रमेश चलाउनेको लेक लागेर मृत्यु भएको हो।

उनीहरु दुवै जना शुक्रबार यार्सा संकलनका लागि फूलबारी पाटनमा गएका थिए । लेक लागेर बिरामी परेका उनीहरुलाई उपचारका लागि सेफोक्सन्डो तर्फ ल्याउँदै गर्दा चलाउनेको बाटोमै र नेपालीको उपचारका क्रममा शनिबार विहान मृत्यु भएको श्री इश्वरी बक्स गुल्म सुलीगाड डोल्पाका क्याप्टेन कुमार थापाले बताए । यार्सा टिप्न गएका सयौं मानिसहरु लेक लागेर बिरामी परेको पनि थापाले बताए ।

त्यसैगरी डोल्पाको ठूलीभेरी नगरपालिका–१ का वर्षीया ३८ का बुद्धि कार्कीको गत बिहीबार दुना यार्सापाटनमा भिरबाट लडेर मृत्यु भएको थियो ।

यार्सा टिप्न गएकालाई टाउको दुख्ने, रिंगटा आउने, ज्वरो आउने, हातखुट्टा दुख्ने, दम लाग्ने, श्वासप्रश्वास बन्द हुनेलगायत समस्या देखिएको छ । लेक लागेर विरामी परेकालाई उपचारमा समस्या भएको छ। यसबर्ष यार्सागुम्बा संकलन गर्न साविको मध्यपश्चिम क्षेत्रका १५ हजार बढी स्थानीय डोल्पाको पाटल पुगेका बताइन्छ ।

यार्सागुम्बा

संम्बधित खबर

विशेष